चिनियाँ जनकंग्रेस अध्यक्ष ली आज आउँदै, यस्तो छ भ्रमण तालिका

सफल खबर संवाददाता

सोमबार, २७ भदौ २०७९, ०८ : ३४
चिनियाँ जनकंग्रेस अध्यक्ष ली आज आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु नेपालको औपचारिक भ्रमाणका लागि आज काठमाडौं आउँदैछन्।

परराष्ट्र मन्त्रालयका अनुसार लीसहितको चिनियाँ प्रतिनिधिमण्डल नेपालको तीन दिने भ्रमणका लागि आउन लागेको हो।  उनी रूस, मंगोलिया हुँदै नेपाल आउने र नेपालबाट दक्षिण कोरियाहुँदै चीन फर्कने कार्यक्रम रहेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।  सोमबार नै चिनियाँ नेता लीले सभामुख सापकोटासँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ। सभामुख सापकोटाले लीको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गर्नेछन्।

मंगलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ। बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची छन्।

नेपाल भ्रमणका क्रममा अध्यक्ष लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्ड’ सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 

ली चीनको चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नीति निर्माता निकाय पोलिट्ब्युरो स्थायी समितिमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खस्याङपछि तेस्रो वरियतामा छन्।

प्रतिक्रिया दिनुहोस