छयानब्बे करोडको अदुवा निर्यात

शनिबार, १८ कार्तिक २०७४, ०८ : ५४
छयानब्बे करोडको अदुवा निर्यात


इलाम । आर्थिक वर्ष २०७३–७४ मा इलामबाट रु.९६ करोडको अदुवा निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेका अनुसार २७ हजार ५७० मेट्रिक टन अदुवा निर्यात भएको हो ।

घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको अदुवाको अहिले जिल्लामा व्यावसायिक खेती हुन थालेको छ । जिल्लामा उत्पादन भएको अदुवा झापाको काँकडभिट्टा हुँदै भारततर्फ निकासी हुने गरेको छ ।

किसानले अदुवाको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भई मनग्य आम्दानी गर्न थालेका छन् । यस वर्ष अदुवा निर्यातमा केही समस्या भए पनि हालै भन्सार निर्यात खुल्ला भएपछि निर्यात हुनेमा किसान ढुक्क छन् ।

कूल उत्पादनको २६ प्रतिशत अदुवा मात्रै जिल्लाका बजारमा खपत हुने गरेको छ । बीउमा मात्र छ हजार ४६६ मेट्रिक टन अदुवा खपत हुन्छ । इलाममा उत्पादित अदुवा भारतीय बजारमाथि निर्भर छ । पटक–पटक नेपाली अदुवाको निकासी रोकिएपछि किसान मारमा पर्ने गरेका छन् ।

पछिल्लो समय रोगको संक्रमण बढेकाले अदुवा खेतीमा समस्या बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहले बताए ।

प्रतिक्रिया दिनुहोस