बलात्कार आरोप लागेका लहानका उपमेयर प्रहरीमा हाजिर

सफल खबर संवाददाता

शनिबार, २५ भदौ २०७९, १० : ५०
बलात्कार आरोप लागेका लहानका उपमेयर प्रहरीमा हाजिर

लहान । महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेपछि बेपत्ता भएका सिराहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतो प्रहरीमा हाजिर भएका छन्।उपमेयर महतो शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय लहानमा हाजिर भएका हुन्।

सम्पर्कविहीन भएको ५१ औं दिनमा आफ्ना कानुन व्यवसायी र पार्टीका नेता कार्यकर्ताहरुसहित शुक्रबार दिउँसो ३  हाजिर भएका महतोलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको शुक्रबार नै लहानस्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको सिरहाका प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले  जानकारी दिए।

महतोलाई इलाका प्रहरी कार्यालय लहानकै हिरासतमा राखेर अनुसन्धान थालिएको एसपी तिमल्सिनाले बताए। उनमाथि अनुसन्धान गर्न म्याद थपका लागि आइतबार सिराहा जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।

‘जागिर लगाइदिन्छु’ भन्दै गत १९ जेठमा आफ्नो कार्यकक्षमा बोलाएर बलात्कार प्रयास गरेको भन्दै लहानकी २१ वर्षीया महिलाले ४ साउनमा किटानी जाहेरी दिएकि थिइन्।