'बाबरी’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

सफल खबर संवाददाता

विहीबार, २३ भदौ २०७९, ११ : २५
'बाबरी’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

काठमाडौं । विजया दशमीको अवसर पारेर १४ असोजबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बाबरी’ अष्ट्रेलिया पनि प्रदर्शन हुने भएको छ । फिल्मको अष्ट्रेलिया प्रदर्शनका लागि फिल्म मेभन कन्सल्टिङ ग्रुपका अनिल त्वनाबासु र विक्की श्रेष्ठले किनेका छन् ।

सुरेन्द्र पौडेल निर्देशित फिल्म महँगो रकममा अष्ट्रेलिया राइट बिक्रि भएको निर्माण युनिटले जनाएको छ । फिल्म निर्माण कम्पनी बाबरी फिल्मस् र मवेन इन्टरटेनमेन्टबीच फिल्मको राइटको बिषयमा कागजी सम्झौता भएको हो । 

निर्मात्री पुष्पलता बुढाथोकीका अनुसार नेपाल प्रदर्शनको १० दिनपछि फिल्म अष्ट्रेलियामा रिलिज हुनेछ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा धीरज मगर, अदिति बुढाथोकी, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दिलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतको अभिनय छ ।

यो फिल्मबाट अभिनेत्री तृप्ति नाडकरका छोरा धीरजले नायकको रुपमा डेब्यू गरेका छन् । फिल्ममा उनी भारतीय नागरिककै भूमिकामा छन् ।फिल्मको निर्मातामा पुष्पलतासँगै गणेश बुढाथोकी हुन् । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं, अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन र निर्देशक पौडेल स्वयंको सम्पादन छ । 

प्रतिक्रिया दिनुहोस