‘क्रिकेटर लामिछानेविरुद्ध बलात्कारको अभियोग पुष्टि भए १२ वर्षसम्म जेल’

सफल खबर संवाददाता

बुधबार, २२ भदौ २०७९, १० : ४७
‘क्रिकेटर लामिछानेविरुद्ध बलात्कारको अभियोग पुष्टि भए १२ वर्षसम्म जेल’

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नाबालिकालाई जबरजस्ती बलात्कार गरेको किटानी जाहेरी प्रहरीमा दर्ता भएको छ । गत ५ भदौमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको काठमाडौं प्रहरीले जनाएको छ । जाहेरी परेपछि लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ ।

लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ । मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) घ मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ । उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको छ । मंगलबारै थापाथलीस्थित प्रसूति गृहमा पीडितको विस्तृत स्वास्थ्य परीक्षण गरिएको छ । 

बलात्कार भएको भनिएको स्थानमा क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि प्रहरीले संकलन गर्न थालेको छ । होटलका कर्मचारीसँग पनि सोधपुछ थालेको छ । पीडितले आफूलाई पिंगलास्थानको होटल काठमाडौं इनमा दुई पटक बलात्कार गरेको भनेकी छन् । त्यसअघि आफूलाई नगरकोट लगेको र त्यहाँ पनि दुव्र्यहार गरेको आरोप लगाएकी छिन् । 

नगरकोटमा सन्दिपले दुर्व्यवहार गर्ने मनसायले लामो समयसम्म राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । त्यसैले पीडित नाबालिक भएकाले यसमा मुलुकी अपराध संहिता २०७४ को दफा २५५ मा उल्लेखित बालयौन दुरुपयोग गर्न नहुने कसूर पनि आकर्षित हुन्छ । ‘कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविकरुपमा एकान्तमा लगे, यौनसम्बन्धी अंग छोए वा अन्य कुनै यौन्जन्य अस्वाभाविक व्यवहार गरे बालयौन दुरुपयोग’ हुने युसको उपदफा (२) मा भनिएको छ ।

‘घटनास्थल फरकफरक भएकाले यो अभियोग पनि आकर्षित हुनसक्छ, यद्यपि यो अनुसन्धानपछि टुंगिने विषय हो,’ काठमाडौं प्रहरीका एक अधिकृतले भने । यदि उनीविरुद्ध बालयौन दुरुपयोगको कसूर पनि लागेर प्रमाणित भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।