भदौ २४ र २५ गते ‘किताब जात्रा’को पाचौं संस्करण हुने

सफल खबर संवाददाता

आइतबार, १९ भदौ २०७९, १२ : १६
भदौ २४ र २५ गते ‘किताब जात्रा’को पाचौं संस्करण हुने

काठमाडौं । ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यस वर्ष भौतिक रूपमा दुई दिन हुन लागेको हो । कोरोना कहरका कारण यसअघिका दुई संस्करण टेलिभिजनमार्फत भएको थियो ।  

फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारी भन्छन्, ‘हामी दुई वर्षपछि फेरि भौतिक रूपमै फेस्टिभल गर्दैछौं ।’ जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कलालगायतका क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुनेछन् । फेस्टिभल कोअर्डिनेटर सुवास अर्यालका अनुसार जात्रामा विमर्शका साथै काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइकजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि हुनेछन् । जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित रहेर संगीत र कला क्षेत्रका विशिष्ट प्रस्तुति रहने उनले बताए । 

यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिङलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश हुने १४ वटा सेसन रहने क्रिएटिभ फेस्टिभल डिरेक्टर कला अनुरागीले बताए । उनका अनुसार भारतका ख्यातिप्राप्त चलचित्र एवं रङ्गमञ्चका अभिनेता, संगीत निर्देशक, गीतकार, गायक तथा पटकथा लेखक पियुष मिश्राको विशेष प्रस्तुतिका साथै नाटक र ‘कुटुम्ब’ ब्यान्डको सांगीतिक प्रस्तुति पनि रहने छ । 

पठनसंस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’को यो संस्करणमा विविध क्षेत्रका पुस्तकहरूको विशेष प्रदर्शनी रहने छ । पुस्तक प्रदर्शनीको संयोजन अनलाइन पुस्तक बिक्रेता किताब यात्राले गर्दैछ । प्रदर्शनीमा उपलब्ध हुने पुस्तकमा विशेष छुटका साथै अनलाइन पेमेन्ट गेटवे प्रभु पेमार्फत भुक्तानी गर्दा अतिरिक्त पाँच प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

किताब जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ । सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ । 

जात्राका अवसरमा ‘किताब यात्रा’ले आफ्नो प्लेटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिनेछ । गत वर्ष आख्यानकार जीवा लामिछाने लिखित ‘देश देशावर’ले प्राप्त अवार्ड प्रदान गरिएको थियो । किताब यात्राले आफ्नो स्थापनाको ५ वर्षको उपलक्ष्यमा आफ्नो प्लेटफर्मबाट गत ५ वर्षमा सबै भन्दा बढी बिक्री भएको किताबलाई यस वर्ष ‘किताब यात्रा डेमी–डिकेड बेस्ट सेलर अवार्ड’ पनि प्रदान गर्दैछ ।
 

प्रतिक्रिया दिनुहोस