काठमाडौं–७ बाट प्रतिनिधि सभा सदस्यमा सुशिल भट्टको नाम सिफारिस

सफल खबर संवाददाता

आइतबार, १९ भदौ २०७९, ११ : ०५
काठमाडौं–७ बाट प्रतिनिधि सभा सदस्यमा सुशिल भट्टको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा सुशिल भट्टलाई सिफारिस गरेको छ ।नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य रहेका युवा नेता भट्ट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका हुन् ।

तारकेश्वर नगरपालिकास्थित नेपालटारमा रहेको ग्रामीण आदर्श क्याम्पसबाट राजनीति सुरु गरेका भट्ट प्रखर वक्ताको रुपमा परिचित छन् ।ग्रामिण आदर्श बहुमुखी क्याम्पसका नेविसंघका पूर्व ईकाई अध्यक्ष भट्ट स्कुले उमेरमै नेविसंघको ‘जहाँ स्कुल, त्यहाँ नेविसंघ’ अभियानको राष्ट्रिय संयोजिक अभियानमा पनि सक्रिय रहँदै आएका छन् ।

सो क्षेत्रबाट भट्टसहित प्रमोदहरी गुरागाइँ, सरोजकुमार थापा, डा.रामशरण थपलिया, विनोद पन्त, प्रमिला सिंह डंगोल, दयाराम पाण्डे, नीलकाजी शाक्य र दक्ष पौेडलको पनि नाम सिफारिस भएको छ ।भट्टले सामाजिक सञ्जालमा लेख्दै आफूले तल्लो तहका कार्यकर्ता मात्र नभएर आम जनताको सुखदुखमा साथ दिएको कारण आफू सिफारिसमा परेको बताएका छन् ।

साथै आफू सधैँ तल्लो तहमा काम गर्ने कार्यकर्ता रहेको भन्दै तल्लो समितिले सिफारिस गरेकोमा धन्यवाद दिए । ‘म ग्राउण्डमा काम गर्ने मान्छे हुँ । ग्राउण्डबाट मेरोपनि नाम सिफारिस भएको छ । कांग्रेसले हामीजस्ता युवालाई पनि अघि सारेर युवाहरुको मत जोगाउनुपर्छ’, भट्टले भने । उनले उमेरका कारण मात्रै नभए एजेण्डा र क्रियाशीलताले पनि आफू युवा रहेको बताए ।

काठमाडौं क्षेत्र नम्बर ७ मा अघिल्लो संसदीय निर्वाचनमा कांग्रेसले राप्रपालाई सघाएको थियो । यसपटक पाँचदलीय गठबन्धनमा कांग्रेसले सो क्षेत्रको पनि दावी कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस