काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले अर्थिक अनुशासन तोडेको भन्दै युरोपका ८ क्लबलाई जरिवाना गरेको छ ।युइएफएले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सहित इटालीको एसी मिलान, इन्टर मिलान, रोमा, युभेन्टस, टर्कीको बेसिक्टास र फ्रान्सको मार्सेली र मोनाकोलाई जरिवाना गरेको हो । यी आठ क्लबले फेयर प्ले नियम तोडेको आरोपमा जरिवाना गरिएको हो ।
पिएसजीलाई यूईएफएले विना कुनै शर्त ८.६ मिलियन पाउन्ड जरिवाना बुझाउन निर्देशन दिएको छ । साथै उसले भविष्यमा ५६.३ मिलियन पाउन्ड बुझाउनुपर्ने बताइएको छ । पिएसजीले पछिल्लो तीन वर्षमा आम्दानीको तुलनामा खर्च बढी गरेको पाइएको छ ।पिएसजीसँगै यी ८ क्लबले १४९ मिलियन युरो युइएफएलाई जरिवानास्वरूप बुझाउनुपर्नेछ । युइएफएका अनुसार क्लबहरूले आम्दानीभन्दा धेरै खर्च गर्न नपाउने नियम छ । तर, नियम उल्लंघनको आरोपमा उक्त क्लबहरूलाई जरिवाना गरिएको हो ।
यस्तै, युइएफएले थप १९ क्लबलाई निगरानी गरिरहेको भन्दै चेतावनी दिएको छ । जसमा चेल्सी, लेस्टर सिटी, म्यानचेस्टर सिटी, वेस्ट ह्याम र रेन्जर्सलगायत छन् ।खेलाडी अनुबन्धभन्दा भुक्तानीमा नियमभन्दा बढी खर्च गरेको आरोपमा यी क्लबमाथि कारवाही भएको हो । कारवाहीस्वरूप यी सबै क्लबले आर्थिक जरिवाना तिर्नुपर्नेछ ।
आर्थिक संकट भए पनि यो समरमा खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको बार्सिलोना भने सोहीअनुसार खेलाडीलाई बाहिर पठाउँदै कारबाहीबाट बच्न सफल भयो । बार्सिलोनाले यो समरमा ८ नयाँ खेलाडी अनुबन्ध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, ११ : २८
लेखकबाट थप