अखिल क्रान्तिकारीले सुरु गर्‍यो त्रिवि बचाउ अभियान

सफल खबर संवाददाता

बुधबार, १५ भदौ २०७९, १२ : ५७
अखिल क्रान्तिकारीले सुरु गर्‍यो त्रिवि बचाउ अभियान

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष’ अभियान सुरु गरेको छ। उक्त संगठनले आज एक विज्ञप्ति जारी गरी त्रिवि बचाउ अभियान सुरु गरेको हो । जारी विज्ञप्तिमा विश्वविद्यालय सुधारका लागि आन्दोलनको आवश्यकता नसकिएको भन्दै विश्वविद्यालय रुपान्तरणका लागि आन्दोलनहरुको स्वरूप बदल्ने उचित समय आएको उल्लेख छ ।

विज्ञप्ति जारी गर्दै सो विद्यार्थी संगठनले संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ। संघर्षका कार्यक्रमहरुमा विम्वात्मक रुपमा भदौ १५ देखि २२ गतेसम्म २४ सै घण्टा विश्वविद्यालय खुल्ला राखिनेछ । सो कार्यक्रम अन्तर्गत कक्षाकोठाहरु खुल्ला राख्दै पढाई सुचारु गर्ने र सबै तहका कार्यकक्षहरु खुल्ला राख्ने विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै सो कार्यक्रममा विम्वात्मक रुपमा बत्तीहरु पनि बालिने  र पानीको धाराहरु खुल्ला राखिनेछ भने विश्वविद्यालयका गेटहरु खुल्ला राखिने जनाइएछ । विज्ञप्तिमा विश्वविद्यालय सुधारका लागि  राख्दै आएका मागहरु पुरा नगरिए थप संघर्षका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस