४० दिनमा म्यादी प्रहरीले कमाउनेछन् ४७ हजार, दशैं पछि भर्ना खुल्दै

सफल खबर संवाददाता

मंगलबार, १४ भदौ २०७९, १३ : ४०
४० दिनमा म्यादी प्रहरीले कमाउनेछन् ४७ हजार, दशैं पछि भर्ना खुल्दै

काठमाडौं । म्यादी प्रहरीले ४० दिनको ४० हजार तलब र ६ हजार ५ सय कपडाको पैसा पाउने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आवश्यक पर्ने म्यादी प्रहरीले ४० दिनका लागि कपडाको ६ हजार ५००, तलब ४० हजार र ३ दिनको ९०० गरी समग्रमा ४७ हजार ४ सय रुपैयाँ पाउने भएका हुन् । 
‘अर्थ मन्त्रालयबाट प्रत्येक म्यादी प्रहरीलाई ४० दिनको ४० हजार तलब, कपडा र जुत्ताको लागि ६ हजार ५०० र ३ दिनको खाजा खर्च ३ सयका दरले बजेट आएको छ’, प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले भने ।

उनका अनुसार चुनावको अघिल्लो दिन, चुनावको दिन र अर्को दिनका लागि प्रतिदिन ३ सयका दरले खाजा खर्च पाउने भएका छन् । सरकारले आइतवार आगामी निर्वाचनमा लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि सहमति दिइसकेको छ । 

प्रहरी प्रवक्ता राईका अनुसार दशैंलगत्तै म्यादी प्रहरीको भर्ना प्रकृया शुरु हुनेछ । यसपालि पनि प्रहरीले ४० दिनको लागि म्यादी प्रहरीको भर्ना गर्नेछ । ‘हामीले ४० दिनको लागि दशैं पछाडी म्यादी प्रहरी भर्ना प्रकृया शुरु गर्ने गरी तयारी गरिरहेका छौँ’, डीआईजी राईले भने ।

म्यादी प्रहरीका लागि सरकारले ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ बजेट छुट्याएको छ । हिमाली भेगमा खटिने म्यादी प्रहरीलाई थप ज्याकेट किन्न १ हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस