अमेरिकाद्वारा श्रीलङ्काका बालबालिकाका लागि तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग

एजेन्सी

शनिबार, ११ भदौ २०७९, १३ : ०६
अमेरिकाद्वारा श्रीलङ्काका बालबालिकाका लागि तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग

एजेन्सी । संयुक्त राज्य अमेरिकाले अमेरिकी कृषि मन्त्रालय (यूएसडीए) मार्फत् र सेभ द चिल्ड्रेनसँगको साझेदारीमा श्रीलङ्काका विद्यालयका बालबालिकाको पोषणका लागि तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग गरेको छ । अमेरिकी जनताबाट प्राप्त यो दानले सबैभन्दा आर्थिकरूपमा कमजोर श्रीलङ्काका बालबालिकालाई लक्षित गर्दछ र उनीहरूलाई खाद्यान्न अभावको चिन्ताबाट मुक्त गरी विद्यालयको पढाईमा ध्यान केन्द्रित गर्न सक्षम बनाउनेछ । 

श्रीलङ्कास्थित अमेरिकी दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, सबै श्रीलङ्कालीलाई देशको स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटबाट अघि बढ्न सहयोग गर्ने अमेरिकी प्रतिबद्धताको प्रमाण सहयोग गरिएका पौष्टिक खाद्यान्न हुनेछ ।  राजदूत चुङ, श्रीलङ्काका शिक्षामन्त्री सुसिल प्रेमजयन्था, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय योजना विभाग र सेभ द चिल्ड्रेनका प्रतिनिधिको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

यो सहयोग ‘यूएसडीए म्याकगभर्न–डोल इन्टरनेसनल फुड फर एजुकेसन एण्ड चाइल्ड न्युट्रिसन प्रोग्राम’को एक हिस्सा हो । भोकमरी कम गरेर साक्षरता र विद्यालय उपस्थिति सुधार गर्न खाद्य असुरक्षितलाई तत्काल आपतकालीन सहायता प्रदान गर्ने उद्देश्यले पाँच वर्षको दुई करोड ६० लाख अमेरिकी डलरको परियोजना हो ।

‘यूएसडीए र यसको साझेदार सेभ द चिल्ड्रेनले श्रीलङ्का सरकार र स्थानीय समुदायसँग मिलेर सबैभन्दा बढी खाँचोमा परेकाहरूलाई खाना पुर्याउन काम गरिरहेका छन् ।विज्ञप्तिमा भनिएको छ, “यो सहयोगले विश्वव्यापी रूपमा खाद्य सुरक्षा अभियानलाई विस्तार गर्न र जीवन बचाउन र दुःख कम गर्न तत्काल आपतकालीन सहायताको रेकर्ड मात्रा प्रदान गर्न अमेरिकीे प्रयासलाई प्रतिबिम्बित गर्दछ ।

यसका अतिरिक्त अमेरिकाले यस वर्ष श्रीलङ्कालाई १७ करोड ९० लाख अमेरिकी डलरभन्दा बढी को नयाँ सहायता को घोषणा गरेको छ । जूनयता मात्र करिब तीन करोड २० लाख अमेरिकी डलर नयाँ मानवीय र प्राविधिक सहायता श्रीलङ्का आएको छ ।