६७ अर्ब ७० करोड कर्जा प्रवाह

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १३ : ४८
६७ अर्ब ७० करोड कर्जा प्रवाह

काठमाडौं । गत आर्थिक बर्ष २०७८र ७९ मा जीवन बीमा कम्पनीहरुले बिमालेख धितो बापत ६७ अर्ब रूपैयाँ भन्दा धेरै कर्जा प्रवाह गरेका छन् । बिमितले खरिद गरेको बीमा पोलिसी नै धितो लागि १९ जीवन बीमा कम्पनीबाट ६७ अर्ब ७० करोड रूपैयाँ कर्जा प्रवाह भएको छ ।

बीमा समितिको तथ्यांक अनुसार जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस्तो कर्जा प्रवाह गरेको छ । कम्पनीले पोलिसी नै धितोमा राखी २४ अर्ब ७६ करोड ९६ लाख रूपैयाँ कर्जा दिएको छ । जुन कुल कर्जाको २६।५८ प्रतिशत हो । त्यस्तै, एलआईसी नेपाल कम्पनीले १८ अर्ब ११ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । नेशनल लाइफका बीमितले ८ अर्ब, एशियन लाइफका बीमितले ३ अर्ब ९३ करोड रूपैयाँ कर्जा लिएका छन् ।प्राइम लाइफका बीमितले २ अर्ब ८ करोड, राष्ट्रिय बीमा संस्थानका बीमितले २ अर्ब २६ करोड, सूर्या लाइफका बीमितले १ अर्ब ९३ करोड, मेट लाइफका बीमितले १ अर्ब १९ करोड रूपैयाँ, गुराँस लाइफका बीमितले १ अर्ब ६ करोड रूपैयाँ र यूनियन लाइफका बीमितले १ अर्ब १ करोड रूपैयाँ कर्जा लिएका छन् । अन्य कम्पनीले भने अर्ब भन्दा कम कर्जा प्रवाह गरेका छन् ।

त्यस्तौ पोलिसी धितोमा राखी कर्जा प्रदान गरे बापत बीमा कम्पनीहरुले ५ अर्ब ९८ करोड रूपैयाँ आम्दानी गरेका छन् । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले गत आवमा बीमा पोलिसी धितोमा राखेर कर्जा प्रवाह गर्दा २ अर्ब ३८ करोड रूपैयाँ आम्दानी गरेको छ । यस अवधिमा एलआइसी नेपालले बीमालेख धितोको कर्जा प्रवाहबाट १ अर्ब ३८ करोड रूपैयाँ आम्दानी गरेको छ । नेशनल लाइफले यस्तो कर्जा प्रवाह गरेवापत् ६३ करोड रूपैयाँ आम्दानी गरेको छ । एशियन लाइफले २३ करोड, प्राइम लाइफले १६ करोड, राष्ट्रिय बीमा संस्थानले १५ करोड, सूर्या लाइफले १४ करोड, मेट लाइफले १२ करोड र गुराँस लाइफले ११ करोड रूपैयाँ आम्दानी गरेका छन् ।

बिमा समितिले बिमितिले आफनै पोलिसी धितोमा राखेर बीमा कम्पनीबाट कर्जा लिन पाउने व्यवस्था गरेको छ । तर, धितो लिदा ‘बीमकले बीमालेख अन्तर्गत पूरा ३ वर्षको बीमा शुल्क प्राप्त भइ बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात् तथा एकल बीमा शुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात् बीमालेख समर्पण गर्न तथा बीमालेख धितोमा राखि ऋण प्रदान गर्न सक्नेछ ।

यस अघि बीमितिले २ किस्ता प्रिमियम तिरेपछि बीमालेख धितो राखि कर्जा लिन पाउने व्यवस्था थियो । बीमितले बीमा कम्पनीमा बीमालेख बाहेक अन्य कुनै पनि प्रकारको चल, अचल सम्पत्ति धितो नराखिकनै ऋण प्राप्त गर्न सक्छन् । बीमालेख बाहेक अन्य कुनै पनि धितो राख्नु नपर्ने कारणले बैंकको तुलनामा बीमालेख धितो राखेर कर्जा लिने प्रक्रिया झनझट मुक्तसमेत मानिन्छ । निर्देशिकाअनुसार बीमितहरूले ३ किस्तासम्म प्रिमियम तिरेपछि प्रिमियमको ९० प्रतिशतसम्म कर्जा लिन पाउने छन् । कर्जा बापत कम्पनीहरुले बजारमा चलेको दर अनुसार कर्जा लिने गर्छन् ।

प्रतिक्रिया दिनुहोस