भानुभक्त पोष्ट बन्यो उत्कृष्ट भित्तेपत्रिका

मंगलबार, २९ जेठ २०७५, १९ : ४६
भानुभक्त पोष्ट बन्यो उत्कृष्ट भित्तेपत्रिका

चितवन । बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा भरतपुर महानगरपालिकाले मंगलबार भरतपुरमा आयोजना गरेको नगर विद्यालयस्तरीय बालश्रमविरुद्ध र बाल संरक्षण सम्बन्धी भित्तेपत्रिका लेखन प्रतियोगितामा भानुभक्त पोष्ट उत्कृष्ट भित्तेपत्रिका बनेको छ । नारायणगढमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा अध्ययनरत चार जना विद्यार्थीले बनाएको भित्तेपत्रिका भानुभक्त पोष्टले पहिलो स्थान हासिल गर्न सफल भएको हो ।
भरतपुर महानगरपालिकाभित्रका नौ वटा विद्यालयबाट ३२ जना विद्यार्थी सहभागी भएको प्रतियोगितामा नारायणी माध्यमिक विद्यालयका विद्यार्थीले बनाएको नारायणी आवाजले दोस्रो स्थान हासिल गरेको छ । नारायणी पब्लिक स्कुलका विद्यार्थीले बनाएको बालमैत्री प्रकाशनले तेस्रो र लक्ष्मी माध्यमिक विद्यालय लंकुका विद्यार्थीले बनाएको बालपेटिकाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायक सूर्यप्रकाश कँडेल, दयाराम कँडेल र बालकृष्ण थपलिया रहेका थिए ।
विजयी विद्यार्थीलाई निर्णायकहरु र भरतपुर महानगरपालिकाका अधिकृत तुलसी श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । विजयी विद्यार्थी अध्ययनरत विद्यालयलाई प्रशंसापत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई भित्तेपत्रिकामा बालश्रमविरुद्धको र बाल संरक्षणको पक्षमा सामग्री राख्न आग्रह गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस