खुला कारागारको संरचना प्रयोगविहीन

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, ०८ : ५७
खुला कारागारको संरचना प्रयोगविहीन

काठमाडौं । खुला कारागार सम्बन्धी कार्यविधि नहुँदा बाँकेस्थित खुला कारागारको संरचना प्रयोगविहीन अवस्थामा पुगेको छ । नेपालगञ्ज उपमहानगरसँग जोडिएको जानकी गाउँपालिका–६ स्थित गनापुरमा १ दशकअघि कारागार भवन निर्माण भएको थियो ।  

बाँके जिल्ला कारागार प्रमुख रामकुमार सोनकरले खुला कारागार सञ्चालन कार्यविधि नबनेका कारण निर्माण भएका संरचना अझै प्रयोगमा आउन नसकेको जानकारी दिए । ‘दुईतिहाइ कैद भुक्तान गरिसकेका र आचारण सुधार भएका कैदीबन्दीलाई निश्चित शर्तका आधारमा खुला कारागारमा बस्ने अवधारणाअनुसार बाँकेमा खुला कारागार बनाइएकोे हो,’ उनले भने, ‘खुला कारागार सञ्चालनका लागि विभागबाट आवश्यक कार्यविधि र निर्देशन नआउँदा अन्योलमा छौं ।’

तत्कालीन कृषि ज्ञान केन्द्रको २ बिघा जमिनमा पौने २ करोडका लगानीमा कारागारको संरचना निर्माण भएको जनाइएको छ । ‘राम्रो आचरण भएका कैदीबन्दीले दिनभर खेतीपातीको काम गर्ने र बेलुकी कारागारमा आएर हाजिरी गरी त्यहीँ बस्ने अवधारणाका साथ उक्त कारागार बनाइएको हो,’ कारागार प्रमुख सोनकरले भने ।

खुला कारागारका संरचना प्रयोगविहीन भइरहँदा बाँके जिल्ला कारागारमा भने क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्न बाध्य छन् । ३५० जना क्षमताको कारागारमा ७५० कैदीबन्दी कोचाकोच गरेर बस्न बाध्य छन् ।

‘सबै पूर्वाधार प्रयोगविहीन छन्,’ कारागारका चौकीदार जगराम चौहानले भने, ‘११ वर्षदेखि मैले नै कुरेर बसेको छु, भवन प्रयोगमा छैनन्, भएका भवनको संरक्षण नहुँदा जीर्ण बनिरहेको छ, कसैलाई वास्ता छैन ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले खुला कारागार सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेका जानकारी दिए । अधिकारकर्मी वसन्त गौतमले भने, ‘खुला कारागार भवन सञ्चालनमा सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस