फोहोर ढुवानी गर्न काठमाडौं महानगरलाई पेसा तथा व्यवसाय क्षेत्रबाट सहयोग

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १२ : ५८
फोहोर ढुवानी गर्न काठमाडौं महानगरलाई पेसा तथा व्यवसाय क्षेत्रबाट सहयोग

काठमाडौँ । काठमाडौं महानगरपालिकालाई फोहोर ढुवानी गर्न पेसा तथा व्यवसाय क्षेत्रबाट सहयोग सुरु भएको छ । यस क्रममा आज बिहान नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले पठाएका १८ वटा टिपर फोहोर बोकेर ल्याण्डफिल साइटतर्फ गएका छन् । 

समितिले उपलब्ध गराएका टिपर​लाई महानगरले हरेक ट्रिपका लागि २३ लिटर डिजेल र श्रमिकलाई एक दिनको १ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनेछ । यता समानान्तर निर्माण सेवाले पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा टिपर​ उपलब्ध गराएको छ । यी टिपर​ पनि विहानै फोहोर बोकेर ल्याण्डफिल साइट गएका छन् । 

महानगरले आफूसँग भएका १२ वटा कन्टेनरमा ट्रान्सफर स्टेसनको फोहोर उठाएको छ । यसरी आज विहान ट्रान्सफर स्टेसनबाट ६० टिपर फोहोर ढुवानी भएको छ । फोहोर व्यवस्थापनका लागि अवरोध गर्ने शृङ्खलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले, फोहोर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा जोड दिएको बताए ।

‘लामो समयसम्मको अवरोधका कारण थुप्रिएको फोहोर उठाउनु पर्ने पहिलो दायित्व भएकोले योजना कार्यान्वयनमा केही समस्या भएको छ । तर, लक्ष्यमा म अडिग छु ।’ प्रमुख शाहले भने । 

प्रतिक्रिया दिनुहोस