दोरम्बा घटनाका पीडितहरू अझै न्यायको पर्खाइमा

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, १४ : ५३
दोरम्बा घटनाका पीडितहरू अझै न्यायको पर्खाइमा

काठमाडौं । रामेछाप जिल्लाको दोरम्बामा गराएको सामूहिक हत्याको घटनाको १९औं वार्षिकीमा वकालत मञ्च नेपालले पीडितहरूको सत्य र न्यायको खोजी कार्यमा साथ रहने प्रतिबद्धता व्यक्त गरेको छ ।बुधवार एक प्रेस विज्ञसप्त जारी गर्दै उक्त मानवअधिकारवादी संस्थाले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।प्रेस विज्ञप्तिमा लेखिएको छ :

२०६० श्रावण ३२ गतेका दिन तत्कालीन शाही नेपाली सेनाले २१ जनालाई गोली हानी हत्या गरेको घट्ना आज १९ बर्ष पुगेको छ । उक्त दिन एकजना सर्वसाधारणको घरमा भेला भएका २१ जना माओवादी कार्यकर्ता सहित सर्वसाधारणलाई नियन्त्रणमा लिई लाईन लगाएर निर्मम तरिकाले गोलीहानी हत्या गरिएको थियो । 

दोरम्बा घटना सशस्त्र द्वन्द्वकालमा भएका जघन्य अपराधको एक प्रतिनिधीमूलक घटना हो जसले  युद्धबिरामको उलंघनका साथै नियन्त्रणमा लिइएका व्यक्तिहरुको संरक्षण गरिनु पर्ने अन्तर्राष्ट्रिय मानवीय कानूनको पनि उलंघन भएको स्मरण गराउँछ । 

विगत १९ बर्ष देखि राज्यको झूटो बाचाका वावजुद  पीडितहरु सत्य, न्याय, परिपूरण र स्मृतिको पर्खाईमा छन् ।हालै नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले जबरजस्ती वेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विद्येयक संघीय संसदमा छलफलका लागि दर्ता गरेको छ ।

वकालत मञ्च नेपाल यस ऐनलाई पीडितमुखी बनाउन सबै पक्षवाट इमान्दार प्रयास हुनु पर्नेमा जोड दिन्छ । वकालत मञ्च नेपालले यस विद्येयकमा केहि संशोधन गर्नुपर्ने प्रावधानहरुको पहिचान गरेको छ र दण्डहिनतालाई प्रश्रय दिई दोरम्बा घटनाका पीडित लगायतलाई न्यायवाट बञ्चित गर्न सक्ने त्यस्ता त्रुटिपूर्ण प्रावधानहरुलाई तत्काल संशोधन गर्न माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस