कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईं नेपाल आइपुगे

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, १४ : ०५
कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईं नेपाल आइपुगे

काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईं नेपाल आइपुगेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको दोस्रो बैठकले आगामी असोज दोस्रो साता बंगलादेशसँग घरेलु मैदानमा हुने मैत्रीपूर्ण खेलका लागि हुमागाईंलाई कार्यवाहक प्रशिक्षकमा नियुक्त गरेको थियो।उनी अमेरिका बस्दै आएका थिए। एन्फाका महासचिव किरण राईले हुमागाईंलाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा बुधबार स्वागत गरे। ‘फिफा विन्डो’ अन्तर्गत  नेपाल र बंगलादेशबीचको खेल असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको हो। 

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी हाल छुट्टीमा रहेका छन्। उनको अनुपस्थितिमा हुमागाईंलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरिएको हो। यद्यपि, बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अल्मुताइरीले २६ खेलाडीको सूची एन्फालाई पठाएका थिए। 

उक्त सूचीमा राष्ट्रिय टोलीबाट निकालिएका अन्जन विष्ट र तेज तामाङ पनि अटाएका थिए। एएफसी एसियन कप छनोटको तयारीमा रहेको बेला मुख्य प्रशिक्षक अल्मुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गत वैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले ‘विद्रोह’ गरेका थिए।

बन्द प्रशिक्षण छाड्नेमा उपकप्तान रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, तेज तामाङ र अन्जन विष्ट थिए।

१० खेलाडीलाई साथ दिएका कप्तान तथा गोलकिपर किरण चेम्जोङले समेत एसियन कप छनोट गुमाएका थिए। एन्फाको पहिलो कार्यसमितिको बैठकले स–सम्मान सबै खेलाडीलाई राष्ट्रिय टोलीमा फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, मुख्य प्रशिक्षक अल्मुताइरीले भने दुई खेलाडीको नाम मात्र सिफारिस गरेको थिए।तर, हुमागाईंले कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्ति मगर, अन्जन विष्ट, अनन्त तामाङलगायतका अनुभवी सिनियर खेलाडीलाई समेट्दै  बन्द प्रशिक्षण डाकेका छन्।

बन्द प्रशिक्षणमा डाकिएको नेपाली टोली: 
गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्‍जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ
मिडफिल्डर : संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट
फरवार्ड : विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास

प्रतिक्रिया दिनुहोस