काठमाडौंको फोहोर स्थायी रूपमा समाधानकाे बाटाेमा जाँदै: मन्त्री चौधरी

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, १२ : २३
काठमाडौंको फोहोर स्थायी रूपमा समाधानकाे बाटाेमा जाँदै: मन्त्री चौधरी

पाल्पा । शहरी विकास मन्त्री मेटमणी चौधरीले काठमाडौंको फोहोर स्थायी रूपमा समाधानको बाटोमा गएको बताएका छन । नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताए। काठमाडौं उपत्यकालाई सधै फोहोर बनाउने र झगडा गराउने एउटा शक्तिशाली गिरोह सक्रिय रहेको पनि उनले बताए।

उक्त गिरोहले विभिन्न नाममा महानगरबाट वर्षेनी फोहोरको नाममा अरबौं रकम लैजाने गरेको उनको दावी छ । उक्त गिरोहसम्म सरकार पुगेकोले अब केही समयमै काठमाडौंको फोहोर स्थायी रूपमै समाधान हुने उनले बताए ।

कार्यक्रममा मन्त्री चौधरीले जनताले राम्रो माने पनि नमाने पनि अबको १० वर्षसम्म नेपालको राजनीतिमा दुई कित्तामा विभाजन भईरहने अवस्था रहेको बताए। २०७४ सालमा गठबन्धन गर्ने प्रमुख शक्ति एमाले भएको र अहिले नेपाली कांग्रेस भएको उनले बताए ।

अहिलेसम्मको अवस्था आउँदा पार्टीको सिद्धान्त विचार भन्दा पनि आ(आफ्नो अस्तित्व रक्षाका लागि गठबन्धन भईरहेको मन्त्री चौधरीले बताए । नेपाली नेताहरूको गलत संस्कार, गलत प्रवृत्ति र सक्षम नेतृत्वको अभावका कारण आज व्यवस्था परिवर्तन भएपनि शासन व्यवस्थामा सुधार नआएको मन्त्री चौधरीको भनाइ छ ।

सरकार कुनै व्यापारीक समूह नभएकाले जनताको दुःख र सुखमा साथ सहजीकरण गर्ने संस्था सरकार भएकोले पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि व्यापारीले जस्तै अहिले घाटा भएको उनले बताए । घाटा पूर्ति भएपछि मात्र मूल्य घटाउछु भन्ने तर्क जायज नभएकोले आगामी सोमबारको मन्त्रिपरिषदको बैठकमा यस विषयमा कुरा उठाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस