विमलाको प्रश्‍न - म मन्त्री भए सबथोक ठीक गर्छु भन्ने सहरी विकासमन्त्री कता हुनुहुन्छ ?

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १४ : २७
विमलाको प्रश्‍न - म मन्त्री भए सबथोक ठीक गर्छु भन्ने सहरी विकासमन्त्री कता हुनुहुन्छ ?

काठमाडौं । प्रतिनिधिसभाकी सांसद विमला विश्वकर्माले नेपाल नागरिकता विधेयकमाथि पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले प्रतिपक्षको असहमति र जनताको चर्को विरोधको बीचमा पनि गठबन्धनले बहुमतको दममा जबरजस्ती ढंगले दुबै सदनबाट विधेयक पारित गराएको आरोप लगाइन् । 

अहिले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाएको नागरिकता विधेयक संघीय संसदमा नै पुनर्विचारका लागि पठाइनु राष्ट्रपति विद्यादेवी भण्डारीको उचित कदम भएको जिकिर गरिन् । उनले राष्ट्रपति भण्डारीलाई देश र जनताको माया गर्ने राष्ट्रकी छोरीको रुपमा चित्रित गरिन् ।

'प्रतिपक्षको असहमति र जनताको चर्को विरोधकाबीच पनि गठबन्धनको बहुमतको दम्भमा जबरजस्ती ढंगले दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका निम्ति राष्ट्रपतिकोमा पठाएकोमा नेपाल नागरिकता विधेयक संघीय संसदमा नै पुनर्विचारका लागि पठाइदिनु भएकोमा देश र जनताको माया गर्ने राष्ट्रकी छोरी सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूप्रति उच्च सम्मानसहित धन्यवाद दिन चाहन्छु' उनले भनिन् । 

उनले एमालेलाई परास्त गर्न पाँच दलले नसक्ने भएर अन्य दलको गठजोड बनाउन लागेको आरोप लगाएकी छिन् । एमालेविरुद्ध गठबन्धन बनाउन लागेकोमा असन्तुष्टि व्यक्त गर्दै पाँच दलले नभएर अरु दलसमेत मिलेर गठजोड गर्न खोज्दै छ कि के गर्दै छ भनेर सरकारसँग प्रश्न गरेकी हुन् । 

उनले काठमाडौं उपत्यकाको फोहोरको समस्या पनि उठान गरेकी छिन् । आफू मन्त्री हुँदा सबथोक ठीक गर्छु भन्ने सहरी विकासमन्त्री यतिबेला कता हुनुहुन्छ भन्दै मेटमणि चौधरीलाई प्रश्न गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस