बामदेव गौतमले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभाको चुनाव लड्ने

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १३ : ३२
बामदेव गौतमले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभाको चुनाव लड्ने

काठमाडौं । बामदेव गौतमले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन्।

तत्कालीन नेकपामा ठूलो रस्साकस्सीपछि बामदेव राष्ट्रपतिले मनोनयन गर्ने कोटाबाट राष्ट्रियसभा सदस्य बनेका थिए। उनको कार्यकाल ६ वर्षे भए पनि राजीनामा दिएर आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्ने तयारी गरेका हुन्।

गौतम नेकपा माओवादीको चुनाव चिन्ह हँसिया हथौडाबाट चुनाव लड्ने तय भएको छ। माओवादीले उनलाई सो चुनाव चिन्ह दिने भएको हो।बामदेव निकट नेता नीमकान्त पाण्डेका अनुसार उनी प्रधानमन्त्री शेरबहादुर देउवाकै आग्रहमा प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्ने तयारी गरेका हुन्।

गौतम २०७४ को चुनावमा बर्दिया १ बाट चुनाव लडेका थिए, तर उनी पराजित भए। अहिले फेरि चुनाव लड्ने तयारी गरे पनि नेकपा विभाजन तथा विभाजनपछि लामो समय कुन पार्टीमा जाने निर्णय नगरी हाल एकता अभियानका रुपमा अघि आएका गौतमको चुनावी सम्भावना कमजोर रहेको विश्लेषण गरिन्छ।

गौतमले आउँदो चुनावमा प्युठानबाट उम्मेदवारी दिने तयारी छ।

प्रतिक्रिया दिनुहोस