काठमाडाैँ । इतिहासमा पिँढीमा विद्यार्थी राखेर संस्कृत र वेदका ऋचाको पठनपाठनका कारण पिँढी पाठशालाको पहिचान बनाएको पोखरामा अहिले भने संस्कृत विषयको पठनपाठन गराउने क्याम्पसदेखि विद्याश्रम सञ्चालनमा छन् ।
इतिहास अनुसार १८–१९औं शताब्दीतिर कास्कीको उत्तरी भेग हालको अन्नपूर्ण गाउँपालिकाको पाउँदुरमा पिँढीमा विद्यार्थीलाई राखेर गुरुशिष्य परम्परा अनुसार संस्कृत तथा त्यससँगै जोडिएका वेद तथा चण्डी आदिको पठनपाठन हुन्थ्यो । त्यसै समयदेखि पाउँदुरसहित विन्ध्यवासिनी आसपासका क्षेत्रमा हुने गरेका पठनपाठनका कारण कास्की शिक्षाको केन्द्र जस्तै बनेको थियो ।
पाउँदुरमा पौडेल थरका गुरुले आफ्ना शिष्यहरूलाई पिँढीमा राखेर पढाउने भएकै कारण पोखराको शैक्षिक विकास पिँढी पाठशालाबाट शुरू भएको यस क्षेत्रका भएको अध्येताहरू बताउँछन् । तत्कालीन समयमा विन्ध्यवासिनी र आसपासमा पराजुली तथा रेग्मी थरका विद्वानले गुरुशिष्य परम्पराअनुसार नै पठपाठन गराएइका कारण देशका विभिन्न स्थानबाट पोखरामा पढ्नका लागि विद्यार्थी आउने गर्दथे ।
त्यसै बेलादेखि शिक्षा नपाए काशी कि कास्की भन्ने प्रचलन भएको अनुमान गरिन्छ । पछिल्ला समयमा आधुनिक शिक्षाको नाममा संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएका अवस्थामा पोखरामा भने यसप्रतिको आकर्षण घटेको देखिँदैन । संस्कृत पढ्नकै लागि देशका विभिन्न स्थानबाट भीमकालीपाटन बगरस्थित विन्दुवासिनी संस्कृत विद्यापीठमा विद्यार्थी आउने गरेका छन् । संस्कृत प्रेमीको सक्रियतामा २०५० सालमा स्थापित यो विद्यापीठ २०५३ सालमा नेपाल संस्कृत विश्वविद्यालय (तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय) को आंगिक क्याम्पस बनेको थियो ।
पोखराको संस्कृत माध्यमिक विद्यालय, चिसाखोला विद्याश्रम, नारायणस्थान, परोपकार संघ ढुंगेसाँघु, राधाकृष्ण गुरुकूल विद्याश्रम लामेआहाल, विन्ध्यवासिनी, गुप्तेश्वर महादेव गुफा लगायतका स्थानमा संस्कृत विषयमा विद्यालय तहसम्मको पठनपाठन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, १५ : ४७
लेखकबाट थप