फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, १२ : ४४
फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दावी गरेका छन ।

आज शनिबार काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबुको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले फोहोरमैला सामान्य कुरा भएपनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको बताए। उनले स्थानीय तहले नै अब फोहोरमैलालाई स्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने बताए । मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको बताए ।

उनले पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरुमा सरसफाई गर्न राष्ट्रिय अभियान सुरु गर्न लागेको बताए । उनले सरसफाईको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारकोबीचमा समन्वय आवश्यक रहेको पनि बताए। मन्त्री श्रेष्ठले नाइट टुरिजम व्यवस्थित बनाउन पर्यटकीय स्थल, मठमन्दिर, सम्पदालाई सुन्दर र संरक्षित बनाउदै सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे।

मन्त्री श्रेष्ठले कतिपय नागरिकलाई प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताए। उनले सिंहदरबारबाट स्थानीय र प्रदेशमा अधिकार सरिसकेको कुरा नागरिकमा बुझाउन आवश्यक रहेको बताउनु भयो । उहाँले स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएकोले यसलाई जगाउन आवश्यक रहेको उल्लेख गरे।

सोही कार्यक्रममा बोल्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारसँग पैसा खर्च गर्न नसकेर फ्रिज भएको अवस्था रहेको भन्दै विकासका लागि बजेट माग्न आग्रह गरे। उनले मन्त्रालयले विकासका लागि आवश्यक बजेट दिन तयार रहेको बताए । मन्त्री जम्कट्टेलले योजना लिएर आउने युवाहरुलाई विकासका काम गर्न पैसाका चिन्ता नगर्न आग्रह समेत गरे ।

मन्त्री जम्कट्टेलले विकासको काममा आउने युवालाई पार्टीको नजरले हेर्नु नहुने बताए । उनले काठमाडौंको विकासका लागि नयाँ ढंगले बहस गर्न आवश्यक रहेको बताए । 

प्रतिक्रिया दिनुहोस