नागरिकले पैसा पाउने गरी फोहोर व्यवस्थापनको योजना बन्दैछः मन्त्री चौधरी

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, २० : १९
नागरिकले पैसा पाउने गरी फोहोर व्यवस्थापनको योजना बन्दैछः मन्त्री चौधरी

काठमाडौँ । शहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन्।

बुधबार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौँमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताएका हुन्।

उनले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको बताए।

उनले फोहोरबाट काठमाडौँभित्रै मल, बिजुली, ग्यासलगायतको उत्पादन गर्ने बताए। उनले देशभर बञ्चरे डाँडा र सिसडोल खोज्ने काम बन्द गरेर फोहोरलाई मोहोरमा बदल्ने रणनीति र योजना बनाउनुपर्ने बताए।

उनले सिसडोलवासीलाई शिर उच्च बनाएर हिँड्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए। उनले सिसडोलवासीले आजै मात्र आफूलाई भदौसम्म फोहोर व्यवस्थापनको उचित काम नभए फोहोरको गाडी ल्याण्डफिल साइटमा जान नदिने चेतावनी दिएको बताए।

उनले भने, ‘बञ्चरेडाँडामा फोहोर फाल्ने कुराको हामी मन्त्रालयमा छलफल गरिरहेका छौँ। बञ्चरे डाँडा, सिसडोल भन्दा अरु मान्छेले पनि त्यहाँका जनतालाई नाक खुम्च्याउने गर्छन्, त्यसलाई हामी रोक्छौँ। उनीहरुलाई शिर ठाडो बनाएर हिँड्ने वातावरण बनाउँछौँ। विद्यार्थीहरुमा पनि यसको असर परेको छ। आजबाट ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको छ। यसको ठाउँमा मल, बिजुली, ग्यास बन्ने प्रोजेक्टको खोजी गरौँ।

यस्ता बञ्चरे डाँडा देशभर खोज्ने होइन, देशभर बत्ती, मल बनाउने, निकाल्ने हो। आज हामी एउटा घरले ४ सय रुपैयाँ तिर्छ भने त्यो श्रोतबापत जनतालाई पैसा दिने गरेर प्रोजेक्ट निर्माण गर्नुहोस् भनेको छु। सिसडोल, बञ्चरे डाँडा देशभर बनाउने कुरा बन्द गरौँ। छोटो अवधिमै भए पनि ग्यास, मल उत्पादन गर्ने व्यवस्थामा हामी छिराउँछौँ। आज सिसडोलका साथीहरुले यो पूरा नगरे भदौ १ गतेदेखि फोहोरका गाडी छिर्नै दिन्नौँ भनेर च्यालेन्ज दिनुभएको छ।’

 

प्रतिक्रिया दिनुहोस