प्रधानसेनापति क्षेत्री भारत प्रस्थान

बुधबार, २३ जेठ २०७५, १४ : ५३
प्रधानसेनापति क्षेत्री भारत प्रस्थान

काठमाडौं । प्रधानसेनापति राजेन्द्र  क्षेत्री भारत प्रस्थान गरेका छन् । भारतीय सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणमा प्रधानसेनापति  क्षेत्री भारत भ्रमणमा गएका हुन् ।  बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानसेनापति  क्षेत्रीलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले विदाई गरेका थिए ।

 भारत भ्रमणमा रहँदा प्रधानसेनापति क्षत्रीले देहारदुनस्थित भारतीय सेनाको इन्डियन मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाजको चिफ रिभ्युविइङ अफिसरको रुपमा आतिथ्यता ग्रहण गर्नेछन् । ६ दिने भ्रमणका क्रममा उनले भारतका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, वायु सेनाध्यक्ष, जल सेनाध्यक्षसहित अन्य उच्च पदस्थ अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमण अवधिभर प्रधानसेनापति क्षेत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने जनाइएको छ । प्रधानसेनापति क्षत्री जेठ २८ गते स्वदेश फर्किनेछन् । 

प्रतिक्रिया दिनुहोस