धान रोप्न हिँडेका ३ किशोरीको शव रूखमा, घटना शंकास्पद

पत्रपत्रिकाबाट

सोमबार, ०९ साउन २०७९, ०७ : ५६
धान रोप्न हिँडेका ३ किशोरीको शव रूखमा, घटना शंकास्पद

झापा । कचनकवल–५ दल्ले गाउँ झापाकी १७ वर्षीया कल्पना कुमारी गणेश नजिकैको चिया बगानमा काम गर्थिन्। घरको आर्थिक अवस्था कमजोर थियो।

परिवारको गुजरा चलाउन बुबालाई मदत गर्थिन्। शनिबारको दिन बगानमा काम गर्न जानुपर्दैन, बिदा हुन्छ। खाना खाएर दिउँसो १२ बजे छिमेकी साथी १६ वर्षीया करिना र १७ वर्षीया अञ्जलीसँग निस्किइन्। तीनै जना मिल्ने साथी हुन्। सँगै चिया बगानमा काम गर्थे। 

साथीकोमा धान रोप्न जाने भनेर शनिबार घरबाट निस्किएकी कल्पना रातिसम्म घरमा फर्किनन्। बुबा वीरबल गणेश भन्छन्, ‘घरमा दिदीलाई धानरोप्न जान्छु भनेर छोरी निस्किएकी रहिछ। तर, फर्केर आइन्।’

शनिबार घरबाट हिँडेका तीनै जना चिया बगान बीचमा रहेको बयरको एउटै रूखमा झुन्डिएको अवस्थामा मृत भेटिए। आफैंले दैनिक काम गर्ने बगानमा उनीहरूको मृत शरीर भेटियो। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्त पाठक प्रहरी भन्छ, ‘घटना शंकास्पद छ।’ दल्ले गाउँ शोकमा डुबेको छ। 

शनिबारबाटै हराएका उनीहरूको शव आइतबार बिहान साढे ७ बजे चिया बगानमा काम गर्न गएका मजदुरहरूले भेटेका थिए। तीनै जना झुन्डिएको अवस्थामा देखेपछि आपूmहरूलाई खबर गरेको कल्पनाका बुबा वीरबल बताउँछन्। ‘म भारतको ठाकुरगन्ज गएको थिए। बेलुका ६ बजे घर फर्के,’ उनले भने, ‘घरमा आएर छोरी खोज्दा अर्की छोरीले बहिनी आएकै छैन भनिन्।’

छोरी राति घर नफर्किएपछि कल्पनाका बुबा वीरबल खोज्नलाई पञ्चमको घर नै पुगेका थिए। ‘पञ्चमले पनि बिहान १० बजे घरबाट निस्किएकी छोरी अझै आइपुगेकी छैन भन्ने जवाफ दिनुभयो। कहाँ गई, मलाई पनि थाहा भएन भन्नुभयो,’ उनले घटना सुनाए। घरभित्र चार्जमा राखेको दिदीको फोन लिएर कल्पना गएकी रहिछन्। ‘कल गर्दा रातभर रिङ जान्थ्यो। तर फोन उठेन,’ दिदी पुष्पाले भनिन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस