काठमाडौं । केही महिना अगाडिसम्म झाडीले ढाकिएको मदन आश्रित उद्यान अहिले व्यवस्थित बनेको छ। बागलुङ नपा–१ रामरेखामा रहेको पार्कको पुनः निर्माण गरी व्यवस्थित बनाइएको हो।उद्यान वरपरको तारबार बिग्रेका कारण उद्यानको जग्गा साँघुरिन समेत पुगेको थियो। अहिले पार्कलाई थप व्यवस्थित बनाइएको छ। झण्डै पाँच रोपनी जग्गामा फैलिएको पार्क सडक निर्माणका क्रममा केही साँघुरिएको समेत छ।
रामरेखाकै शहीद पार्क नजिकै रहेको पार्क लामो समय व्यवस्थित नबन्दा झाँडीले घेरिएको भए पनि अहिले वन मन्त्रालयको बजेटमा पार्कलाई केही व्यवस्थापन गरिएको मदन आश्रित उद्यानका संरक्षक तथा संघीय सांसद मनकुमारी केसीले जानकारी दिइन्।
‘२०५४ सालपछि तत्कालीन नगर प्रमुख ऋषिराम शर्माको नेतृत्वमा तल्लो पार्कलाई शहीद पार्क र उपल्लो जग्गालाई मदन आश्रित पार्कको नामकरण गरेर संरक्षण गरिँदै आइएको थियो, केही वर्ष शहीद पार्क, मदन आश्रित पार्क दुबै अस्तव्यस्त बने, अहिले शहीद पार्क चिटिक्क बनेको छ। मदन आश्रित पार्कलाई यो वर्ष केही पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाएका छौं’, केसीले भनिन्, ‘वन मन्त्रालयअन्तर्गतको १५ लाखको लागतमा पर्खाल लगाउने, तारबार गर्ने र मदन आश्रितको बोर्ड व्यवस्थापन गर्ने कार्य भएको छ, आगामी दिनमा पार्कलाई अझै व्यवस्थित गर्नका लागि बजेट विनियोजन हुन्छ।’
रामरेखामा पछिल्लो समय शहीद पार्क, मदन आश्रित पार्क, विपी स्मृति पार्क र डिबी पार्क व्यवस्थित भएका छन्। बागलुङ बजारको कोलाहल बिर्साउन बिहान र साँझमा यहाँका स्थानीय बासिन्दा पार्कमा रमाउने जाने गरेका छन्। अहिले पार्कको स्वरूप नै बदलिएको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर बोहोराले जानकारी दिए।
बोहोराका अनुसार पार्कमा तारबार, १५० मिटर लामो पक्की पर्खाल, मदन आश्रितको बोर्ड व्यवस्थापन र पार्कभित्रको चौतारी व्यवस्थापन गरिएको छ। ‘यो वर्ष डिभिजन वन कार्यालय बागलुङको १५ लाखको लागतमा पार्कलाई थप व्यवस्थित बनाएका छौं। लामो समयदेखि अव्यवस्थित बनेको पार्कलाई अहिले पुनर्निर्माण गरेका छौं’, अध्यक्ष बोहोराले भने, ‘पार्क अहिले केही हेर्न लायक बनेको छ, अझै व्यवस्थित हुन्छ, हामीले पार्कलाई शहीद पार्ककै झल्को दिनेगरी व्यवस्थित गर्ने योजना बनाएका छौं।’
डिभिजन वन कार्यालयले विभिन्न उद्यानलाई व्यवस्थित गर्ने वार्षिक योजनाअनुसार मदन आश्रित पार्कमा केही पूर्वाधार सहित रङरोगन गरेको डिभिजन वन कार्यालयका प्रमुख मुकुन्दप्रसाद अधिकारीले जानकारी दिए। उनले गत वर्ष विपी स्मृति पार्क व्यवस्थित गरिएको र अहिले मदन आश्रित पार्क व्यवस्थित गरिएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ साउन २०७९, १५ : २०
लेखकबाट थप