पुस्तक छपाइको काम सकियो

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १५ : ३०
पुस्तक छपाइको काम सकियो

काठमाडौँ  ।  नयाँ शैक्षिक सत्र शुरु भएको दुई महिनापछि नयाँ पुस्तक छपाइको काम सकिएको छ। सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी  चित्रकुमार आचार्यले सबै पुस्तक छपाइ सकिएको जानकारी दिए।

गत असार २९ गतेसम्म करिब पाँच लाख थान पुस्तक छाप्न बाँकी रहेको उनले जानकारी दिएका थिए। ‘चालू शैक्षिक सत्रमा छाप्नुपर्ने सम्झौता अनुसारका सबै नयाँ पुस्तक छापिसकिएको छ’, उनले भने।उनले छापिएको पुस्तक दुई दिनभित्र सम्बन्धित ठाउँमा पुर्‍याइसक्ने बताए। जनक शिक्षाका अनुसार चालू शैक्षिक सत्रका लागि १ करोड ९० लाख थानभन्दा बढी पुस्तक छापिएको छ।

‘अंग्रेजी, नेपाली र सामाजिक विषयको चाहिँ वेला-वेला छाप्न माग आएको छ, छाप्न आएका वेला छाप्छौँ’‚ उनले भने। समयमा पुस्तक छपाइ नहुँदा र सम्बन्धित ठाउँमा पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ।

सरकारले नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि नै पठनपाठन थाल्ने निर्णयअनुसार पढाइ शुरु भएको थियो तर पुस्तक नपाएपछि यसअघि विद्यार्थी नै सडकमा आएर विरोध प्रदर्शन समेत गरिसकेका छन्। पटक-पटक प्रमुख प्रतिपक्षीका सांसदहरूले संसद्‌ बैठकमा सरकारको चर्को आलोचना गर्दै पुस्तक अभाव हुन नदिन माग गर्दै आएका छन्।

यता जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी आचार्यले भने स्थानीय तह निर्वाचनक‍ा लागि मतपत्र छाप्नुपर्ने र कागज अभावले समयमा नयाँ पुस्तक छपाइ सक्न नसकिएकाे जानकारी दिए। 

उनका अनुसार कक्षा १ देखि १२ सम्मको नयाँ पुस्तक छापिन्छ। कक्षा १ देखि ९ सम्म रंगीन पाठ्यपुस्तक छापिएको छ भने कक्षा १० देखि १२ सम्मको सादा (ब्ल्याक एण्ड ह्वाइट) पुस्तक छापिँदै आएको छ।छापिसकेको पाठ्यपुस्तक तुरुन्तै जनक शिक्षाको धनगढी, नेपालगन्जलगायत ९ ठाउँमा प्रादेशिक कार्यालयमा पठाइ वितरण गरिएकाे आचार्यकाे दाबी छ।

प्रतिक्रिया दिनुहोस