प्रदेश १को नामाकरणको लागि छलफलबाट सहमतिको प्रयास

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, ११ : २८
प्रदेश १को नामाकरणको लागि छलफलबाट  सहमतिको प्रयास

काठमाडौँ  ।  प्रदेश १ को नामाकरणको छलफलको लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच शुक्रबार सर्वदलीय बैठक बस्दैछ। बैठक दिउँसो एक बजे बस्ने तय भएको हाे।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आह्वानमा सर्वदलीय बैठक बस्न लागेको हो। प्रदेशसभा गठन भएको चार वर्ष ६ महिना बितिसक्दा पनि प्रदेश १ को नामाकरण हुन सकेको छैन।नामाकरणको प्रस्ताव अगाडि बढाउने जिम्मेवारी प्रदेशसभाको भएपनि सभामुखले पहिलो पटक नामका विषयमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरेका हुन्। यसअघि उनले अनौपचारिक रूपमासमेत दलहरुसँग छलफल गरेका छन्।

प्रदेश नामाकरणका विषयमा यसअघि प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईको आह्वान दलहरुबीच दुई पटक छलफल भएको थियो।

तर, ती छलफलहरुबाट नामकरणका लागि साझा धारणा बन्न सकेको छैन। मुख्यमन्त्री राई र सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, संघीय लिम्बुवान राष्ट्रिय मञ्च र जनता समाजवादी पार्टी भने नाममा पहिचान झल्किनुपर्ने पक्षमा छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले यसअघि मुख्यमन्त्री राईको पहलमा भएको छलफलमा प्रदेशको नाम ‘कोशी’ राख्नु पर्ने प्रस्ताव गरेको थियो।दलहरूले प्रदेशको नामको सवालमा छुट्टाछुट्टै प्रस्ताव गरेको र एकअर्काको प्रस्तावमा सहमति नबनेको अवस्थामा सभामुखले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

आजको बैठकमा दलहरुले नामको प्रस्तावमा आफ्ना धारणाहरू राख्ने र सहमतिको खोजी हुने बताइएको छ।प्रदेश १ को नाम पहिचानको आधारमा राख्नु पर्ने र भौगोलिक आधारमा राख्नुपर्ने दुईखालका धारणाहरू सार्वजनिक भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस