Safal Khabar - चीनका नयाँ बादशाह
आइतबार, ०५ साउन २०७६ (Sunday, 21 July, 2019)
चीनका नयाँ बादशाह
सोमबार, १३ कार्तिक २०७४, २१ : ०५
चीनका नयाँ बादशाह

अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनको सन् १९७२ को चीन भ्रमणबाट चिनियाँ नेताको इतिहासलाई हेर्ने दृष्टिकोण अनुमोदन भएको कथन लामै समयसम्म चलेको थियो । माओका निष्ठावान् सहयोगी चाउ एनलाईले फ्रान्सेली क्रान्तिको पाठका सम्बन्धमा सोधिएको प्रश्नको उत्तरमा अहिल्यै टिप्पणी गर्नु हतार हुने बताएका थिए रे । त्यहाँ उपस्थित कूटनयिकहरूका अनुसार वास्तवमा चाउले सन् १७८९ को फ्रान्सेली क्रान्तिको हैन सन् १९६८ को विद्यार्थी आन्दोलनका सन्दर्भमा त्यो उत्तर दिएका थिए । त्यस अर्थमा त्यसको पाठका बारेमा बताउनु साँच्चै नै अलि हतारै हुन्थ्यो ।

जेहोस्, फ्रान्सेली क्रान्तिको पाठ चीनमा अहिले दोहोरिएको छ । भनिन्छ, सन् २०१२ को चिनियाँ कम्युनिस्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनलगत्तै चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूका लागि सन् १८५६ मा लेखिएको एलेक्सिस टकभिल्लेको पुस्तक ‘द ओल्ड रिजिम एन्ड द रिभोल्युसन‘ पढ्नै पर्ने पुस्तक हुनपुगेको थियो रे । त्यस पुस्तकको पक्षमा राष्ट्रपति सी चिनफिङको भ्रष्टाचार विरोधी अभियानका सञ्चालक र सायद सबैभन्दा निकट सहयोगी वाङ चिसानले निकै उत्साहपूर्वक चर्चा गरेका थिए ।

टकभिल्लेको तर्क के थियो भने अठारौं शताब्दीको बढ्दो समृद्धिका कारण फ्रान्समा शासन गर्न मुस्किल हुँदैगएको छ । मानिसहरू सम्पन्न हुन थालेपछि सामाजिक र आर्थिक असमानताप्रति बढी सचेत हुन्छन् र धनी र शक्तिशालीप्रति असन्तुष्ट हुन थाल्छन् । व्यवस्थामा सुधारका प्रयासहरूले यसका कमजोरी उजागरमात्रै गर्छन् । त्यसपछि क्रान्ति भयो र राजतन्त्र र सामन्तवाद समाप्त भयो । यथार्थमै उनीहरूको टाउको गिँडियो ।
चिनियाँ कम्युनिस्ट पार्टीको भर्खरै सम्पन्न १९ राष्ट्रिय महाधिवेशनले टकभिल्लेको मान्यतालाई चीनका नेताहरूले कति गहिरोसँग मनमा राखेका रहेछन् भन्ने उजागर गरेको छ । सीले मुलुक र पार्टीमा आफ्नो निर्विवाद हैकम अझ बलियो बनाए । उनले पहिलो कार्यकालमा देङ स्यायोपिङका चीनको अर्थतन्त्र खुला बनाउने, पार्टी र सरकारबीचको अन्तर, विदेश सम्बन्ध र सुरक्षा नीतिलाई कम महत्त्व दिनेजस्ता अधिकांश मान्यतालाई उल्ट्याएर आफ्नो स्थिति सुदृढ बनाए ।

सीले आफ्नो भ्रष्टाचार विरोधी अभियानलाई पार्टीका छुनै नसकिने मानिएका शक्तिशाली अधिकारीहरूविरुद्ध लक्षित गरेर सम्भावित प्रतिस्पर्धीहरूलाई पनि पाखा लगाए । उनले पार्टीको केन्द्रीय समितिमा अहिलेसम्मकै सबैभन्दा ठूलो ‘शुद्धीकरण‘ भएको देखेका छन् । उनले असन्तुष्टिको सानो संकेतसमेत नामेट पारेका छन् । कतिसम्म भने इन्टरनेटमा ठट्टा गर्न वा उनलाई ‘विनी द प‘सँग तुलना गर्ने व्यंग्य गर्न पनि प्रतिबन्ध लगाएका छन् ।
अरू कुनै मुलुकमा यस्ता उपायहरू अपनाइएको भए सीले मुलुकलाई लेनिनवादी अधिनायकवादी शासनमा परिणत गरेको भनेर चर्को आलोचना हुन्थ्यो होला । चीनमा भने यसलाई सीले मुलुकmलाई पुनःसशक्त बनाउने ‘चिनियाँ सपना‘ पूरा गर्ने दिशामा नेतृत्व दिएको भन्दै पर्यवेक्षकहरूले प्रशंसा गरेका छन् ।
परन्तु, कतिपयले त्यो सपना दिवास्वप्नमा परिणत हुने ठानेका छन् । जनसांख्यिक प्रवृत्तिबाट चीनलाई गत केही दशकमा तीव्र आर्थिक वृद्धि हासिल गर्न सघाउने पर्याप्त श्रम शक्ति अब छिटै अभाव हुने चुनौती देखिएको छ । लज प्रदूषण र अभाव, कार्बन डाइअक्साइड उत्सर्जन, घातक मात्राको वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर गरेको छ भने चीनको आर्थिक उपलब्धि दिगो हुननसक्ने लक्षण देखाएको छ ।

चीनको कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धि एकातिर स्वागतयोग्य छ भने त्यसले ऋणको मात्रा र ‘पानीको फोका’ जस्तो घरजग्गमा लगानी बढाएको छ । चिनियाँ अनुसन्धाताहरूले समेत चीन संसारका चर्को आर्थिक असमानता भएको मुलुकमध्येमा पर्ने स्वीकार गरेका छन् । गरिबहरू झन् गरिब भएका छन् भने धनीहरू झन्झन् धनी हुँदैगएकाले ‘चिनियाँ शैलीको समाजवाद‘को वास्तविक अर्थ यही हो त भन्ने प्रश्न उत्पन्न भएको छ ।

पक्कै पनि सकारात्मकरूपमा लिँदा आशावादी दृष्टिकोण राख्न सकिन्छ । राजनीतिक प्राथमिकता र व्यापारिक अवस्थाले निर्देशन गर्ने हुनाले चीनको अधिकांश ऋण आन्तरिक हो । चीनले वातावरणीय ह्रास तथा जलवायु परिवर्तनका समस्यालाई सम्बोधन गर्ने अधिकांक अन्तर्राष्ट्रिय प्रयासहरूको समर्थन गरेको छ । असमानरूपमै सही धेरै जना सम्पन्न हुँदैछन् । सीको शासनमा चिनियाँ कम्युनिस्ट पार्टीमा रहेको व्यापक भ्रष्टाचार नियन्त्रण गर्न कम्तीमा पनि केही प्रयत्न त भएको छ ।

चीनका प्रशंसकहरूले गरेको बखानमध्ये केही त सत्य होस् भनेर हामी सबैले आशा गर्नुपर्छ । चीनको अार्थिक वृद्धि धराशायी भयो भने सम्पूर्ण विश्वकै अर्थ व्यवस्था संकटमा पर्नेछ । तर, आशावादीहरूले पनि चीनले आधुनिक समाज र अर्थतन्त्र सञ्चालन गर्ने उत्तम उपाय फेला पारेको छ भन्ने सीको दाबी भने सत्य भएकोमा कुनै न कुनै रूपमा सन्देह गरेकाछन् ।

पक्कै पनि लोकतान्त्रिक मुलुकहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेबकुफीपूर्ण मूर्खता र युरोपमा उग्र राष्ट्रवादको उदयजस्ता चुनौतीको सामना गरेका छन् । तर, लोकतान्त्रिक प्रणालीमा अन्तर्निहित व्यवस्थाका कारण ठूलो हिंसा वा दमनविना नै सही बाटोमा फर्काउन सक्षम संयन्त्र पनि छ ।
सीको चीनका हकमा भने त्यस्तो हुनसक्तैन । वर्षौंसम्म चीनमा आर्थिक मामिलामा राज्यको भूमिका विषयमा गम्भीर विमर्श चलेको थियो । एउटा पक्ष कम्युनिस्ट पार्टीले अर्थतन्त्रमा पकड खुकुलो बनायो भने अन्ततः राज्य पनि यसको नियन्त्रणबाट उम्किनेछ भन्ने तर्क गरेको थियो । अरूहरू त्यसको ठीक विपरीत मान्यता राख्थे । उनीहरूका अनुसार आर्थिक नियन्त्रण नत्यागेमा आर्थिक विसंगतिहरू बढ्न र विकास दिगो हुन छाड्नेबित्तिकै पार्टीले राजनीतिक शक्ति गुमाउनेछ । सी यथास्थितिवादीको पक्षमा स्पष्टसँग देखिएका छन् ।

 

सीले पार्टीलाई मात्रै सशक्त बनाएका भने हैनन् । उनले आपूmलाई पनि झन् शक्तिशाली बनाएका छन् । यथार्थमा चिनियाँ कम्युनिस्ट पार्टीमा को माथि जानेछ र सर्वशक्तिवान् नेतासँग असहमत भएबापत को तल झर्नेछ भन्ने थाहा पाउन मुस्किल भएको छ । बाहिरबाट अनुमान गर्न त यसले छेकेको छैन तर अडकलवाजी गर्नुको कुनै अर्थ छैन । सीले पनि अरू बादशाहहरूले जस्तै आफ्ना अनुचरहरूलाई भारदारका रूपमा नियुक्त गरिरहने छन् ।
अधिक शक्तिसँग जिम्मेवारी पनि धेरै आउँछ । वर्तमान अवस्थामा सीसँग यथार्थमै निरंकुश शक्ति छ । एकै जना व्यक्तिका लागि त्यो धेरै ठूलो बोझ हो । सी हटाउन खासै बाधा नपर्ने ट्रम्पभन्दा धेरै चलाक हुनसक्छन् तर चीनको समृछ तथा स्थिर भविष्यको सुनिश्चितताका लागि त्यतिमात्र पर्याप्त हुँदैन । र, स्थिति बिग्य्रो भने दोष कस्लाई लाग्छ भन्ने सबैले थाहा पाएका छन् । अधिनायकवादी शासकहरूको अन्त्य एउटै प्रकारले हुने कारण नै यही हो । यति जान्नका लागि टकभिल्ले नै पढ्नु भने पर्दैन ।

क्रिस प्याटेन
(हङकङका अन्तिम ब्रिटिस गभर्नर, हाल – कुलपति अक्सफोर्ड विश्वविद्यालय, बेलायत)

प्रतिक्रिया दिनुहोस