रोटरी क्लब अफ विराटनगरविरुद्ध जालसाजी मुद्दा

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, १६ : ४२
रोटरी क्लब अफ विराटनगरविरुद्ध जालसाजी मुद्दा

काठमाडौं । रोटरी क्लब अफ विराटनगरविरुद्धमा कीर्ते जालसाजी मुद्दा दर्ता भएको छ । विराटनगरस्थित आदर्श पुस्तकालय समितिका तर्फबाट भीमेन्द्रबहादुर कार्कीले मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गराएका हुन् । 

आदर्श पुस्तकालय विराटनगरको गौरवमय इतिहास बोकेको पुस्तकालय हो । सो पुस्तकालयको जिल्ला प्रशासन कार्यालय मोरङका अगाडि गोश्वारा रोडमा आफ्नो भवन भएपनि रोटरी क्लबले पुस्तकालयको जग्गामा कीर्ते जालसाजी गर्दै स्वामित्व कायम गरि कब्जा जमाएको आरोप लगाइएको छ । 

रोटरी क्लबलाई पटक–पटक लिखित आग्रह गर्दा पनि क्लबका पदाधिकारीले सो कुरालाई वास्ता नगरी अटेर गर्दै आएपछि मुद्दा दायर गर्नु परेको पुस्तकालयले जनाएको छ । पुस्तकालयका अध्यक्ष भीमेन्द्रबहादुर कार्कीले मुद्दामा क्लबका अध्यक्ष तथा  पदाधिकारीलाई प्रतिवादी बनाइएको बताए । मुद्दा पुस्तकालयका अध्यक्ष कार्की, सदस्यद्वय टीकाप्रसाद उप्रेती र गोपालप्रसाद उपाध्याय भएर दर्ता गराएका हुन् । मुद्दाको पहिलो पेशी आगामी साउन ३० गते तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस