पुसमा रत्ननगरदेखि नारायणगढसम्म रोटा मिनी म्याराथन

मंगलबार, २६ मंसिर २०७४, २१ : १४
पुसमा रत्ननगरदेखि नारायणगढसम्म रोटा मिनी म्याराथन

चितवन । नारायणगढ रोटरी क्लबले आगामी पुस ३ गते रत्ननगरदेखि नारायणगढसम्म १५ किलोमिटर दुरीको मिनी म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगिताबारे जानकारी दिन मंगलबार भरतपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष नारायण प्रधानले १७ वर्षभन्दा माथिका खेलाडी सहभागी हुन सक्ने नेपो रोटा मिनी म्याराथन प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर सञ्जय गिरी रहने उनले बताए ।
कार्यक्रम संयोजक विज्ञानलाल श्रेष्ठले प्रतियोगितामा प्रथम हुने खेलाडीले ५० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताए । प्रतियोगितामा सहभागी हुनको लागि प्रवेश शुल्क दुई सय रुपैयाँ तोकिएको छ । दौडको समयमा ट्राफिक व्यवस्थापन गर्न जिल्ला प्रशासन र ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस