प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, १४ : ५४
प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही हुने बताएका छन् ।  बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही प्रक्रिया अघि बढेको बताउँदै कानुनअनुसार कारबाही हुने बताए ।

देशको करिब ८० प्रतिशत ब्यायभार बोकेको त्रिभुवन विश्वविद्यालयले आफ्नो गल्तीलाई सच्चाउँदै आगामी दिनमा यस्तो कार्य गर्न नदिनेमा आफू सजग भएको बताए ।  प्रश्नपत्र हुबहु निकाल्नेमाथि छानबिन भइरहेको बताउँदै उनीहरुमाथि कडा कारबाही हुने विश्वास व्यक्त गरे । 

अर्थशास्त्र विभागले जेठ १८ गते संचालन गरेको स्नात्तकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत डिन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीतिशास्त्रको पहिलो सेमेष्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । 

हुबहु प्रश्नपत्र  बाहिर आएपछि त्रिविको कार्यकारी परिषद्को बैठकले व्यवस्थापन संकाय अन्तर्गतको परीक्षा रद्द गरी साउन १ गतेदेखि परीक्षा सञ्चालन गर्ने र प्रश्नपत्र बनाउनेलाई तीन वर्षसम्म डीन कार्यालयका परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने निर्णय गरेको छ । 
त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले स्नातक र स्नातकोत्तर तहका ४ वटा प्रश्नपत्र बाहिरिएको र हुबहु दोहोरिएको बताए ।

प्रतिक्रिया दिनुहोस