एन्फा र एनएसएल आयोजकबीच छलफल हुने

सफल खबर संवाददाता

आइतबार, २६ असार २०७९, १३ : १८
एन्फा र एनएसएल आयोजकबीच छलफल हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल सुपर लिग (एनएसएल) आयोजकबीच छलफल हुने भएको छ । गत शुक्रबार एन्फा र असन्तुष्ट ‘ए’ डिभिजन लिगका चार क्लबबीचको बैठकले एनएसएल आयोजनाको सम्झौता रद्द गर्न आगामी कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

यससँगै चौधरी ग्रुप स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्ट्स एण्ड म्यानेजमेन्ट कम्पनी र एन्फाबीच केही समयमै बैठक बस्दैछ । ‘क्लबसँगको बैठकपछि हामी एनएसएल आयोजकसँग पनि बैठक बस्दै छौं । एन्फा मुख्यालयमा बैठक १ बजे पछि सुरु हुनेछ’, एन्फा स्रोतले जनतापाटीलाई बतायो । 

अघिल्लो सम्झौतामा मापदण्ड पूरा गरे एनएसएलको टिमलाई एएफसी तथा फिफाको प्रतियोगितामा सहभागी हुन दिने थियो । जुन विषयले विवाद लिँदा एनएसएलको दोस्रो संस्करण स्थगित भएको हो । गत चैतमै हुनेपर्ने प्रतियोगिता हालसम्म स्थगित छ । 

तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाले एनएसएलसँग सो सम्झौता गरेका थिए । तर, असार ६ गते सम्पन्न चुनावमा निर्वाचित पंकजविक्रम नेम्बाङ समूहले मुख्य मुद्दा नै एनएसएललाई बनाएको थियो । यस समूहले एनएसएललाई ‘गोल्डकप’ को रुपमा आयोजना गर्नुपर्ने बताउँदै आएको छ । 

अघिल्लो शुक्रबार बैठकमा एनएसएल आयोजनाको शैलीमाथि चर्काे विरोध जनाउँदै आएका सहिद स्मारक ए डिभिजन लिगका चार क्लबहरू (थ्री स्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम (एनआरटी) उपस्थित थिए । 

यद्यपि, एन्फाको अघिल्लो कार्यसमितिले आगामी २५ भदौदेखि १० कात्तिकसम्म प्रतियोगिता गराउन समय उपलब्ध गराइसकेको छ । 

प्रतिक्रिया दिनुहोस