प्रतिनिधि सभाको प्रमुख सचेतकमा यादवलाई मनोनयन गर्ने नेकपा (एस)को निर्णय

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, १६ : ३५
प्रतिनिधि सभाको प्रमुख सचेतकमा यादवलाई मनोनयन गर्ने नेकपा (एस)को निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले पार्टीको तर्फबाट प्रतिनिधि सभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनले बैठकलै सुदूरपश्चिम प्रदेश कमिटी नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा पूर्व सांसद एवं पार्टी केन्द्रिय समितिका सदस्य हर्कबहादुर सिंहलाई जिम्मेवारी दिने निर्णय भएको पनि बताए । प्रवक्ता खतिवडाले बैठकमा पार्टीका आन्तरिक जीवनमा व्यवस्थापन गर्नुपर्ने विषयमा समेत छलफल भएको बताए ।

उनले भने, ‘पार्टीका आन्तरिक जीवनमा व्यवस्थापन गर्नुपर्ने विषयमा समेत छलफल भएको छ । प्रतिनिधि सभाको प्रमुख सचेतकमा हाम्रो संसदीय दलको तर्फबाट सरला यादवलाई मनोनयन गर्ने निर्णय गरेको छ । हाम्रो पार्टीबाट सुदूरपश्चिम प्रदेश कमिटी नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा पूर्व सांसद, पार्टी केन्द्रिय समितिका सदस्य हर्कबहादुर सिंहलाई जिम्मेवारी दिइएको छ ।’

बैठकपछि संक्षिप्त कुराकानी गर्दै पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बैठकमा हालै सम्पन्न केन्द्रीय परिषद्का बैठकले निर्णय गरे बमोजिम पार्टीलाई देशका १६५ वटा संघीय निर्वाचन क्षेत्र र ३३० वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पार्टी संगठन बिस्तार गर्ने, जनवर्गीय संगठनहरु बिस्तार गर्ने र पार्टी संगठनलाई राष्ट्रव्यापीरुपमा बिस्तार गर्ने निर्णय गरेको बताए ।