एपीएफ र प्रदेश ७ विजयी

शनिबार, १९ जेठ २०७५, १६ : ०८
एपीएफ र प्रदेश ७ विजयी

काठमाडौं । विभागीय टोली एपीएफले प्रदेश १ लाई ९ विकेटले पराजित गर्दै एक्सेल्सिया प्रधानमन्त्री कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । दिनकै अर्को खेलमा प्रदेश ७ ले प्रदेश ३ लाई २ विकेटले हरायो । यस पराजयसँगै प्रदेश १ को यात्रा समाप्त भएको छ भने प्रदेश ३ को झिनो आशा कायम छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटिङ रोजेको प्रदेश ३ ३४ औं ओभरमा १ सय १६ रन जोड्दै अल आउट भएको थियो । कप्तान जितेन्द्र सिंह ठकुरीले ४० तथा सोनु तामाङले २९ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । प्रदेश ७ का शेर मल्लले ४ तथा विकास आग्रीले ३ विकेट हात पारे । जवाफमा प्रदेश ७ ले ८ विकेट गुमाउँदै ४० औं ओभरमा लक्ष्य पुरा गर्यो । सन्जु दमाइले २५, विजय रानाले २४ तथा अरुण ऐरीले २१ रन जोड्दै जितको आधार तयार पारेका थिए ।

मुलपानी क्रिकेट मैदानमा प्रदेश १ ले पहिलो ब्याटिङको निम्तो पाएको थियो । ४२ ओभरमा सबै विकेट गुमाउँदै टोलीले १ सय्त २७ रन जोड्यो । सन्दीप ढुंगानाले शीर्षक्रममा २९, मिनाश थापाले २७ तथा कप्तान पुष्प थापाले २० रन जोडे । जवाफमा एपीएफले १७ औं ओभरमै लक्ष्य प्राप्त गर्यो । अनिल साहले ४८ बलमा ५ चौका र ३ छक्काको मदतले नटआउट ६२ रन बनाए । प्रदीप ऐरीले २३ रन जोड्दा पृथु बास्कोटा ३२ रनमा नटआउट रहे ।

प्रतिक्रिया दिनुहोस