राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा

शनिबार, १९ जेठ २०७५, १४ : २८
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा

पोखरा । युवा तथा खेलकूद मन्त्रालयको तत्वाधान, राष्ट्रिय खेलकूद परिषद्को संयोजन तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा हुने प्रदेश नं ४ स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको पश्चिमाञ्चल खेलकूद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिनुभयो ।

पोखरा रंगशालामा यही जेठ २० र २१ गते आयोजना हुने प्रतियोगितामा प्रत्येक निर्वाचन क्षेत्र, जिल्लास्तरका प्रतियोगिताबाट छनोट भएका खेलाडीको सहभागिता रहने पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताउनुभयो ।

प्रतियोगिताअन्तर्गत छात्रछात्रा भलिबल, कबड्डी, उसु, कराँते, र तेक्वान्दो, गरी ११ वटै जिल्लाबाट ७९२ जना खेलाडी र १३२ जना निर्णायक गरी जम्मा ९२४ जनाको सहभागिता रहने उहाँले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने जिल्लालाई नगद रु २० हजारसहित प्रदेश नं ४ को राष्ट्रपति रनिङ शिल्ड, दोस्रो हुने जिल्लालाई नगद रु १५ हजार ट्रफी र तेस्रो हुने जिल्लालाई नगद रु १० हजार ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी काठमाडौँमा यही जेठ २३ देखि २५ गतेसम्म सञ्चालन हुने केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता गरिने भएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस