इङ्गल्याण्डको कीर्तिमानी जित

सफल खबर संवाददाता

मंगलबार, २१ असार २०७९, १९ : २५
इङ्गल्याण्डको कीर्तिमानी जित

काठमाडौं । भारतसँगको पाचौँ तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इङ्गल्याण्डले कीर्तिमानी जित निकालेको छ । भारतले दिएको तीन सय ७८ रनको लक्ष्य इङ्गल्यान्डले पाँचौँ दिनको खाना समयअघि नै तीन विकेट गुमाएर पूरा ग¥यो ।

इङ्ग्ल्यान्डले आफ्नो टेस्ट इतिहासमा अहिलेसम्मकै ठूलो लक्ष्य पूरा गरेर कीर्तिमान बनाएको हो । जितसँगै पाँच खेलको टेस्ट शृङ्खला दुई–दुईको बराबरीमा सकिएको छ ।

यसअघि इङ्गल्यान्डले सन् २०१९ मा लिड्समा अस्ट्रेलियासँगको खेलमा तीन सय ५९ रनको लक्ष्य पूरा गरेको थियो । इङ्गल्यान्डका जोय रुट एक सय ४२ र जोनी ब्रेस्टो एक सय १४ रनमा नटआउट रहे ।

ब्रेस्टोले पछिल्ला पाँच वटा खेलमा चार वटा शतक प्रहार गरेका छन् । एक सय नौ रनमा तीन विकेट गुमाएको इङ्ल्यान्डका लागि रुट र ब्रेस्टोले दुई सय ५४ रनको साझेदारी गरे । रुटले भारतसँगको खेलमा अहिलेसम्मकै धेरै नौ वटा शतक पनि पूरा गरेका छन् ।

पहिलो पारीमा एक सय ३२ रनको अग्रता बनाएको भारतले दोस्रो पारीमा दुई सय ४५ रन बनाएपछि समग्रमा इङ्गल्यान्डले तीन सय ७८ रनको लक्ष्य पाएको हो ।

गएको वर्ष पाँच खेलको टेस्ट शृङ्खला अन्तर्गत चार वटा टेस्ट सकिएपछि खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि हुँदा पाँचौँ टेस्ट रोकिएको थियो । गएको वर्षकै शृङ्खला अन्तर्गत भारत र इङ्ग्ल्यान्डले अहिले पाँचौँ टेस्ट खेलेका हुन् ।

प्रतिक्रिया दिनुहोस