काठमाडौंको सुरक्षा व्यवस्थाको जिम्मा संघीय प्रहरीलाई दिनुपर्छ : गृहमन्त्री खाण

सफल खबर संवाददाता

मंगलबार, २१ असार २०७९, १२ : ४०
काठमाडौंको सुरक्षा व्यवस्थाको जिम्मा संघीय प्रहरीलाई दिनुपर्छ : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा संवेदनशीलता बढी भएका कारण काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थाको जिम्मा संघीय प्रहरीलाई दिनु पर्ने बताएका छन्  । राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी बिधेयकमाथिको छलफलमा मन्त्री खाणले प्रदेश प्रहरीको अधिकार कटौती गर्न नभई राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिन लागेको बताए । ‘सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर यो व्यवस्था गरेको हो, प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा होइन,’ उनले भने ।

अन्तर्राष्ट्रिय परिदृश्य बदिलिइरहेका र सुरक्षा संवेदनशीलता पनि बढिरहेको भन्दै बैठकमा उनले भने, ‘सुरक्षासँग सम्बन्धित कतिपय नीति निर्णयको गोपनियता पनि राख्नु पर्छ र उपत्यकाको सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक हेर्नुपर्छ ।’

प्रहरी विधेयकमा उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीले गर्ने भनिएको छ । उपत्यकाको सुरक्षाको केन्द्रमा राख्ने प्रस्तावमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसद एकमत छन् । तर नेकपा माओवादी केन्द्रका सांसदले भने त्यसमा विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस