भारतसँगै नेपालमा पनि बढ्न थाले कोरोना संक्रमित, चौंथो लहरको संकेत ?

पत्रपत्रिकाबाट

शुक्रबार, १७ असार २०७९, ०७ : ४७
भारतसँगै नेपालमा पनि बढ्न थाले कोरोना संक्रमित, चौंथो लहरको संकेत ?

काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ६ सय २० जनामा ऐन्टिजेन र पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा नेपालमा अहिलेसम्म ६२ जनामा संक्रमण पुष्टि भएको छ।

असार १ गतेको तथ्यांकलाई हेर्ने हो भने लगभग तेब्बरको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ। असार १ गते ३ हजार ९ सय ५ जनामा ऐन्टिजेन र पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमितको संख्या मात्रै होइन् पछिल्लो समय कोरोनाको सक्रिय संक्रमितको संख्यामा पनि बढेको छ। असार १ गते ९७ जना रहेको सक्रिय संक्रमितको संख्या असार १५ गतेसम्म आइपुग्दा बढेर २ सय ६१ पुगेको छ।  

शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन कोरोना संक्रमण बढ्दै जानुको कारणहरुमा स्वास्थ्य मापदण्डका उपायहरु अपनाउन छोड्नु र छिमेकी मुलुकमा संक्रमण बढनु रहेको बताउँछन्। पछिल्लो समय नेपालमा कोरोनाको कुन भेरियन्टको संक्रमण देखिएको भन्ने थाहा नहुँदा संक्रमण दर कस्तो अवस्थामा बढ्ला भन्न नसकिने उनको भनाई छ। 

त्यसैले नेपालमा ओमिक्रोनको भेरियन्टले संक्रमण बढेको हो वा अन्य भेरियन्टले गर्दा संक्रमण दर बढेको हो त्यो खोजी गर्न आवश्यक रहेको उनको भनाई छ। तर, कोरोनाको पहिलो, दोस्रो र तेस्रो लहरलाई हेर्ने हो भने चौथौं लहरले भयावह अवस्था नल्याउने डा।पुनको आंकलन छ।  

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा।संगिता मिश्रले नेपालमा अन्तर्राष्ट्रिय नाकाबाट नेपाल आउने व्यक्तिहरुमा बढी कोरोना संक्रमण देखिएको बताएकी छिन्। उनले अहिले ओमिक्रोन भेरियन्टको नयाँ सब लिनियज देखिएको र यो अन्य भन्दा अलि बढी संक्रामक हुने हुँदा संक्रमण बढेको बताएकी छिन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस