किसानका समस्या समाधानका लागि कृषि एम्बुलेन्सको माग, बालीमा लागेको रोग किराको नियन्त्रण गर्न एस एम एस बाटै औषधीको सिफारिस

प्रकाश सिग्देल

विहीबार, १६ असार २०७९, १५ : ५२
किसानका समस्या समाधानका लागि कृषि एम्बुलेन्सको माग, बालीमा लागेको रोग किराको नियन्त्रण गर्न एस एम एस बाटै औषधीको सिफारिस

चितवन । अन्तराष्ट्रिय एकिकृत पर्वतिय विकास केन्द्र इसिमोडले चितवन जिल्लाको कृषि प्रर्वदनका लागि जलवायु तथा बाली व्यवस्थापन परामर्श सेवा प्रणाली स्थापना गरेसंगै चितवनका किसानलाई मौसममा आधारित खेती प्रणाली विकास गर्न सहज भएको छ ।

कृषि ज्ञान केन्द्र चितवनको नेतृत्व तथा प्राविधिक सहयोग र फरवार्ड नेपालको सहकार्य एवं युके एड र ईसिमोडको आर्थीक सहयोगमा चितवन जिल्लाको कृषि प्रर्वधनका लागि जलबायु तथा बाली ब्यवस्थापन परामर्श सेवा प्रणाली स्थापना भएको हो ।

फरवाड नेपाल र कृषि ज्ञान केन्द्र चितवन संगको सहकार्यमा चितवनका ४ स्थानिय तह माडी, कालिका रत्ननगर र खैरहनीमा सुरु भएको यो कार्यक्रमले किसानलाई मौसममा आधारित पुर्व सुचना प्रदान गर्ने र रोग किराका समस्या समाधानमा बिज्ञहरुको राय सहितको सुझाब मोवाईलमै एस एम एस गरी पठाइने गरेको छ । यसले गर्दा किसानले समयमै बालीमा आएको समस्याको उचित उपचार गरी बालिको संरक्षण गर्न सफल भएका छन् ।

बुधबार जिल्ला स्थीत सरोकारवालाको बैठक बसी कार्यक्रमको आगामी निरन्तरता र सरकारी निकायको भुमीकाका बिषयमा छलफल भएको थियो । जिल्ला समन्वय प्रमुख नारायण प्रसाद अधिकारीको अध्यक्षतामा भएको बैठकमा माडी नगरपालिकाका प्रमुख ताराकाजी महतो, खैरहनी नगरपालिका प्रमुख शशि कुमार खनिया, कृषि तथा वन बिज्ञान बिश्वबिद्यालयका प्राध्यापक डा अजुर्न कुमार श्रेष्ठ , प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना प्रमुख, धन बहादुर थापा, जिल्ला कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे, फरवार्ड नेपालका प्रमुख नेत्र प्रताप सेन लगाएत स्थानिय तहका कृषि प्राबिधिकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा माडी नगरपालिका प्रमुख महतोले यो कार्यक्रम धेरै राम्रो भएको र कृषि क्षेत्रको बिकासमा यो कार्यक्रमले धेरै ठुलो टेवा पुर्याउने बताईन् । उनले यस्ता खालका सुचना सबै किसानमाझ पुर्याउन आवस्यक रहेको बताईन् ।

त्यस्तै खैरहनी नगरपालिका प्रमुख खनियाले थोरै लगानी र थोरै मेहनतमा धेरै प्रतिफल दिने कार्यक्रम भएकाले यसलाई सबै स्थानिय तह र जिल्ला कृषि कार्यालयहरुले आफनो निति कार्यक्रममा समाबेस गरेर अगाडी बढ्नु पर्ने बताए ।

सो अवसरमा कृषि ज्ञान केन्द्र चितवनलाई कृषि मौसम परामर्श सुचना पाटि स्थापनाका लागि ४३ इन्चको एल ई डी मोनिटर हस्तान्तरण गरिएको थियो ।चितवन जिल्लाको कृषि प्रर्वदनका लागि जलबायु तथा बालि ब्यवस्थापन परामर्श सेवा प्रणाली स्थापना गरिएको र यसले किसानको हितमा राम्रो काम गरेको ईसिमोडकी कार्यक्रम संयोजक डा मन्दिरा सिहं श्रेष्ठले बताईन् ।

परियोजनाले वर्तमान अवस्थामा मौसमले पारेको प्रभाव र आउने हप्तामा परिर्वतन हुन सक्ने मौसमको आकंलन गरी कृषकहरुलाई कृषि मौसमको परामर्श विभिन्न माध्यामबाट प्रसारण गरी बाली उत्पादन र बालीमा आउन सक्ने सम्भावित जोखिमको बारेमा निर्णय लिन सक्ने क्षमताको अभिबृदि गरेको श्रेष्ठको दाबी छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय योजना महाशाखा प्रमुख  झलकनाथ कंडेलले यो कार्यक्रम किसानका लागि धेरै लाभदायी भएकाले मन्त्रालयले यो कार्यक्रम कार्यान्वयनका लागी बजेट बिनयोजन गरेको बताए । आगामी दिनमा थप प्रभावकारी बनाउने तर्फ मन्त्रालयले जोड दिने उनि बताउँछन् ।   

यो कार्यक्रमबाट किसानले  बिरुवामा कस्तो समस्यामा कस्तो उपचार गर्ने भन्ने कुरा मोवाईलबाटै परामर्श पाउदै आएका छन् । यो कार्यक्रम बाट जिल्लाका १ हजार जना किसान सम्म एस एम एप पठाइएको छ ।

यस कार्यक्रम किसानको हितमा धेरै उपयोगी देखिएकाले सरकारी निकायले पनि आफनो कार्यक्रमका रुपमा समाबेस गरी सबै स्थानिय तहमा लागु गरेर किसानको समस्या समाधानका लागि कृषि एम्बुलेन्स परिचालन गर्नु पर्ने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले बताए ।

यो कार्यक्रम कार्यन्वयनका लागि जिल्ला स्तरिय बिषयगत विशेषज्ञहरु समिलित कृषि परामर्श समिति गठन भएको छ । समितिले हरेक १५ १५ दिनमा बैज्ञानिक तथ्य र सम्वद्ध प्रबिधिहरुको उपयोग गर्दै कृषि मौसम परामर्श बुलेटिन तयार गर्ने गरेको र त्यही आधारमा किसानलाई सुचना दिने गरिएको ईसिमोडका बिज्ञ गणेश भट्रराइले बताए ।

मोवाईल एप्सको प्रयोग गरी स्थानिय तह तथा कृषि ज्ञान केन्द्रका प्राबिधिकहरुले बालिको तथ्याकं, बाली अवस्थाको अनुगमन गरी कुनै बालिमा रोग किरा लागेमा सो को फोटो सहितको तथ्याकं मोवाईल एप्स मार्फत कृषि ज्ञान केन्द्रमा पठाउँछन् । त्यसपछि बिज्ञहरुको समुहले मौसम पुर्वानुमान र क्षेत्रगत समस्याको आधारमा बैठक बसि कृषि सल्लाह बुलेटिन र एस एम एस तयार गरि त्यो एस एम एस कृषि प्राबिधिक मार्फत किसानलाई मोवाईलमा एम एस गरी पठाइदै आएको फरवार्ड नेपालका कार्यक्रम व्यवस्थापक हिमालय सुबेदीले बताए । यो कार्यक्रमलाई प्रभावकारी बनाउँदै आगामी दिनमा निरन्तरतता दिन चितवनका स्थानिय तह र यहाका कृषि संग सरोकार राख्ने निकायलाई थप जिम्मेवार र जवाफदेही बनाईने कार्यक्रमका अध्यक्ष एवं जिल्ला समन्वय प्रमुख नारायण प्रसाद अधिकारीले बताए । 

किसानले आफुलाई आएको सुचनाका आधारमा खेतवारी तयार गर्ने, बिउ लगाउने,रोगकिराको उपचार गर्ने फसल भित्राउने काम गर्ने गरेका छन् । यो कार्यक्रमले दिगो कृषिको विकास संगै किसानलाई व्यवसायीक बनाउँन र कृषिमा देशलाई आत्मनिर्भरको बाटोमा अगाडी बढाउन धेरै ठुलो लाभ पुग्ने अपेक्षा गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस