नुवाकोट गोल्डकप फुटबल शुरु

विहीबार, १७ जेठ २०७५, १९ : २८
नुवाकोट गोल्डकप फुटबल शुरु

नुवाकोट । आजदेखि शुरु भएको ‘प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’को उद्घाटन खेलमा घरेलु टोली नुवाकोट विजयी भएको छ ।

बट्टारस्थित खेल मैदानमा भएको प्रतिस्पर्धामा नुवाकोट–११ ले चितवन–११ लाई १–० गोल अन्तरले हराएको हो । नुवाकोटलाई विजयी गराउन खेलको पहिलो हाफको २८ औँ मिनेटमा उचित लामाले गरेको गोल नै निर्णायक बन्यो ।

यही जेठ २६ गतेसम्म चल्ने प्रतियोगितामा घरेलु टोली नुवाकोटसहित थ्रीस्टार, फ्रेन्डस अफ क्लब जाउलाखेल, नेपाल पुलिस, एपिएफ, मदन भण्डारी स्पोर्टस एकेडेमी, चितवन, रुपन्देही, कास्की र काठमाडौंँका दश टोलीले सहभागिता जनाएका छन् । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाखसहित शिल्ड र पदक प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले जिल्लामा राष्ट्रियस्तरको खेल मैदान निर्माण भएकाले आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिन सहयोगको प्रतिबद्धता जनाउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस