मन्त्री आलेविरूद्धको मुद्दा सर्वोच्चले अघि बढाउने

पत्रपत्रिकाबाट

विहीबार, ०९ असार २०७९, ०८ : ०२
मन्त्री आलेविरूद्धको मुद्दा सर्वोच्चले अघि बढाउने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरविरूद्ध सर्वोच्च अदालतमा मुद्दा अगाडि बढ्ने भएको छ। उनको अश्लील गालीगलौज गरेको अडिओ सार्वजनिक भएपछि असार ५ गते सार्वजनिक मर्यादा र आचारण उल्लंघन भएको भन्दै सर्वोच्चमा रिट परेको थियो।

तर रजिष्ट्रार नारायणप्रसाद पन्थीले सो विषय प्रतिनिधिसभाको क्षेत्राधिकारभित्र पर्ने भन्दै ५ गते नै दरपिठ गरिदिएका थिए। सोही दरपिठविरूद्ध निवेदकहरू इजलासमा पुगेका थिए। सोहीअनुसार बुधबार सर्वोच्च अदालतका न्यायाधीश टंक मोक्तानको एकल इजलासले रजिष्ट्रार पन्थीको दरपिठलाई बदर गरिदिएको छ।

दरपिठ बदरपछि अब मुद्दा सर्वोच्चमा अगाडि बढ्ने भएको छ। ‘सर्वोच्च प्रशासनले राजनीति गरेर सरकारी दवावमा हाम्रो निवेदन दरपीठ गरिदिएको थियो,’ निवेदक अधिवक्ता पौडेलले भने,‘हामीले आज९बुधबार० इजलासमा हाम्रा कुरा राख्यौं। प्रतिनिधिसभामा यो विषय हेर्न संसद् आचारण अनुगमन समिति नै गठन नभएको अवस्था रहेको कुरा पनि राख्यौं।’ सो कुरा राखेपछि इजलासले मुद्दालाई अगाडि बढाउने बाटो खोलिदिएको उनले बताए।

‘हामीले पहिलो कुरा त्यो अडिओ सत्य होकी होइन भनेर स्वतन्त्र ल्याब परीक्षणको माग गरेका छौं। दोस्रो सामाजिक परीक्षण होस् भन्ने छ,’ उनले भने, ‘यदि साँच्चिकै मन्त्रीकै हो भने अयोग्य व्यक्ति मन्त्री पदमा बस्न हुन्न भनेर बर्खास्तीको माग गरेका छौं।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस