मन्त्री पाण्डेले पूर्वप्रधानमन्त्री प्रचण्डसँग हात मिलाउँदै दिए बधाई

सोमबार, २५ मंसिर २०७४, १९ : ३२
मन्त्री पाण्डेले पूर्वप्रधानमन्त्री प्रचण्डसँग हात मिलाउँदै दिए बधाई

 

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हात मिलाउँदै वनमन्त्री विक्रम पाण्डेले बधाई दिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले चितवनका विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन सोमबार दिउँसो भरतपुरस्थित मतगणनास्थल परिसरमा आयोजना गरेको कार्यक्रममा पुगेका मन्त्री पाण्डेले चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्यमा विजयी पूर्वप्रधानमन्त्री प्रचण्डलाई हात मिलाएर बधाई दिएका हुन् ।

कार्यक्रमस्थलमा प्रचण्डपछि पुगेका वनमन्त्री पाण्डेले निर्वाचनमा आफ्नो प्रतिस्पर्धी रहेका प्रचण्डलाई हात मिलाएर बधाई दिएपछि सँगै रहेका क्षेत्र नम्बर दुईबाट विजयी उम्मेदवार कृष्णभक्त पोखरेललाई पनि बधाई दिए । वनमन्त्री पाण्डेपछि मञ्चमा पुगेकी प्रचण्डकी छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई पनि उनले बधाई छ भनेका थिए ।

प्रतिनिधि सभा सदस्य पद निर्वाचनमा चितवनको क्षेत्र नम्बर तीनबाट पूर्वप्रधानमन्त्री प्रचण्ड र वनमन्त्री पाण्डेबीच मुख्य प्रतिस्पर्धा भएको थियो । मतगणनाको अन्तिम मत परिणाम अनुसार प्रचण्डले नौ हजार तीन सय ४१ मतको अन्तरले पाण्डेलाई पराजित गरेका थिए । प्रचण्डले ४८ हजार दुई सय ७६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी मन्त्री पाण्डेले ३८हजार नौ सय ३५ मत ल्याएका थिए ।

 

प्रतिक्रिया दिनुहोस