गेटामा तत्काल तीन सय सैय्याको अस्पताल बन्छ ‍: प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, २० : ४६
गेटामा तत्काल तीन सय सैय्याको अस्पताल बन्छ ‍: प्रधानमन्त्री देउवा

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई कसरी अगाडी बढाउने भन्ने विषय छलफल भइरहेको भन्दै तत्काल ३ सय बेडको अस्पताल सञ्चालन गरिने बताएका छन् । 

गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित अत्तरिया संघर्ष समितिले शुक्रबार धनगढीमा ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री देउवाले तत्कालका लागि ३ सय बेडको अस्पताल सञ्चालन गरी आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने बारेमा छलफल हुने बताए । आफू सुदूरपश्चिमकै नागरिक भएको बताउँदै प्रधानमन्त्री देउवाले गेटामा सेवा सुचारु गरेरै छोड्ने प्रतिबद्धतासमेत जनाएका छन् । 

‘मेडिकल विश्व विद्यालय बनाउनेकी प्रतिष्ठान बनाउने भन्ने विषयमा पछि निर्णय गरौंला,’ ज्ञापन पत्र बुझ्दै देउवाले भने, ‘तत्कालका लागि तीन सय बेडको अस्पताल सञ्चालनको प्रक्रिया अघि बढिसकेको छ ।’ 

९० प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भइसकेको गेटामा तत्काल सेवा सञ्चालन हुनुपर्ने भन्दै अत्तरिया संघर्ष समितिले ज्ञापन पत्र बुझाएको थियो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार धनगढी आएका हुन् । 

सुदूरपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेको देउवा विद्यार्थीलाई दीक्षित प्रमाण पत्र वितरण गरेर धनगढीस्थित आफ्नै निवासमा बसेका छन् । प्रधानमन्त्री देउवाले शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस