‘रुसले दिनैपिच्छे हाम्रा २ सय सैनिक मारिरहेको छ’

सफल खबर संवाददाता

शुक्रबार, २७ जेठ २०७९, १० : १८
‘रुसले दिनैपिच्छे हाम्रा २ सय सैनिक मारिरहेको छ’

एजेन्सी । रुसले हरेक दिन १ सयदेखि २ सय आफ्ना सैनिक मारिरहेको युक्रेनले दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार मिखायलो पोदोल्याकले बीबीसीसँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् । 

यो आँकडा पछिल्लो अनुमानभन्दा धेरै हो । हिजो युक्रेनका रक्षामन्त्रीले दैनिक एक सय सैनिक गुमाइरहेको दाबी गरेका थिए । उनका अनुसार हरेक दिन पाँच सयभन्दा बढी सैनिक घाइते हुने गरेका छन् । 

मिखायलो पोदोल्याकले युक्रेनलाई पूर्वी डोनबास क्षेत्रमा जारी युद्धमा रुससँग युद्ध लड्न सैयौँ पश्चिमी तोप आवश्यक रहेको बताए । मस्कोसँग शान्ति वार्ताका लागि किभ तयार नरहेको उनको भनाइ छ ।  

युक्रेनी सेनाले लगातार गोली र बम आक्रमण झेलिरहेको छ । युक्रेनको डोनबास क्षेत्रमा भीषण युद्ध चलिरहेको छ । रुसको सेनाले डोनबास क्षेत्रलाई पूर्णरूपमा नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
पोदोल्याकले भने, ‘रुसको सेनाले परमाणु बम छोडेर हरेक हतियार प्रयोग गरेको छ । चाहे ती ठूल्ठूला तोप, रकेट लञ्चर वा हवाई आक्रमण किन नहोऊन् ।’ 
युक्रेन पश्चिमा देशसँग लगातार हतियार मागिरहेको छ । त्यही मागलाई दोहोर्‍याउँदै पोदोल्याकले सेना र हतियारको असमानता नै युक्रेनलाई भइरहेको नोक्सानीको प्रमुख कारण रहेको बताए । २४ फेब्रुअरीमा आक्रमण गरेको युक्रेनी क्षेत्रबाट रुसी सेना नफर्किएसम्म शान्ति वार्तामा नबस्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस