एमालेले घनश्याम भूसाललाई कारवाही प्रक्रिया अगाडि बढायो

सफल खबर संवाददाता

आइतबार, २२ जेठ २०७९, १७ : २४
एमालेले घनश्याम भूसाललाई कारवाही प्रक्रिया अगाडि बढायो

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही प्रक्रिया अगाडि बढाएको छ । अनुशासन आयोगले सचिवालय बैठक राखेर भूसाललाई आवश्यक कारवाहीका निम्ति पार्टीमा सिफारिस गरेको हो ।

पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएकाले विधान बमोजिम कारवाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले बताए । ‘हामी त कारवाही गर्ने निकाय होइनौं । आवश्यक अनुसन्धान गरेर सिफारिस गर्ने हो, त्यो गरेका छौं’, बडालले भने। स्थानीय चुनावको नतिजाबारे भूसालले अन्तर्वार्ता दिएका थिए ।

अन्तर्वार्तामा भूसालले स्थानीय चुनावमा जनताले एमालेको इतिहास र कार्यकर्ताको योगदानको कदर गरेपनि अध्यक्ष ओलीको कार्यशैलीकै कारण पराजित हुनुपरेको बताएका थिए । गत मंसिरमा चितवनमा सम्पन्न १०औं महाधिवेशनको प्रक्रियादेखि जिल्ला अधिवेशनहरुमा देखिएको शैली समग्रतामा असफल भएको प्रमाण चुनावबाट पुष्टि भएको भूसालको निचोड थियो । अहिलेकै शैली नछोडे एमाले थप संकटतिर धकेलिने पनि भूसालको निष्कर्ष थियो ।

प्रतिक्रिया दिनुहोस