आगामी मंसिर भित्र आम निर्वाचन सक्नेगरी आयोगको तयारी

७ जिल्लामा विद्युतीय मतदानको प्रस्ताव

सफल खबर संवाददाता

विहीबार, १९ जेठ २०७९, २० : ३१
आगामी मंसिर भित्र आम निर्वाचन सक्नेगरी आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले ढिलोमा आगामी १० मंसिर भित्र मतदान सक्नेगरी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको अनौपचारिक तयारी थालेको छ । २१ मंसीर २०७९ मा प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुको पदावधि सकिने भएकाले त्यसअघि नै नयाँ सांसद निर्वाचित हुनेगरी आयोगले आन्तरिक तयारी थालेको हो ।

‘दुई चरणमा भए ढिलोमा मंसिर १० गतेभित्र, एकै चरणमा भए त्यसअघि सकिने गरी निर्वाचनको तयारी गर्नुपर्ने देखिन्छ’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘कानून अनुसार हेर्दा २२ मंसिरपछि अहिलेका सांसदहरु (प्रतिनिधि सभा र प्रदेश सभा)को पदावधि सकिन्छ । त्यसभन्दा अघि नै नतिजा आउने गरी निर्वाचन हुनुपर्ने देखिन्छ ।’

निर्वाचन आयोगका अर्का आयुक्तका अनुसार अहिलेसम्म पदाधिकारीहरुको बैठकमा औपचारिक रुपमा आगामी निर्वाचनका बारेमा छलफल सुरु भएको छैन । अनौपचारिक रुपमा भने दशैंतिहार लगत्तै निर्वाचन गर्नुपर्नेवारे छलफल भएको उनी बताउँछन् ।

२२ मंसिरपछि अहिलेको प्रतिनिधि सभा र प्रदेश सभाको अवधि सकिने, त्योभन्दा ज्यादा अघि पनि दशैंतिहार जस्ता चाडवाड पर्ने भएकाले मंसिर लागेपछि १०/१२ गतेभित्र निर्वाचन हुनेगरी आयोगले तयारी थालेको हो । १० मंसिरपछि निर्वाचन गर्दा हिमाली जिल्लामा हिमपात भएर कठिनाई हुने अनि सांसदहरुको पदावधिसमेत सकिएर रिक्तताको अवस्था आउने भएकाले ढिलोमा १० मंसिरको समय सीमामाथि छलफल हुने आयोगका कर्मचारीहरुको भनाइ छ ।

निर्वाचन आयोगको सूचना प्रविधि महाशाखाले काठमाडौं उपत्यका र बाहिर महानगरपालिका रहेका जिल्लामा विद्युतीय मतदान गराएर आवश्यक पर्ने पूर्वाधार र स्रोतसाधनको गृहकार्य गरिरहेको छ । आयोगले काठमाडौं उपत्यकासहित महानगरपालिका रहेका जिल्लामा विद्युतीय मतदानको प्रस्ताव सरकारलाई बुझाउने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस