आजदेखि लाइसेन्सको नयाँ आवेदन प्रणाली लागू हुने, हालसम्म परेको पाँच लाख ७२ हजार आवेदन रद्द

सफल खबर संवाददाता

सोमबार, १६ जेठ २०७९, १२ : ११
आजदेखि लाइसेन्सको नयाँ आवेदन प्रणाली लागू हुने, हालसम्म परेको पाँच लाख ७२ हजार आवेदन रद्द

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने भएको छ। विभागले आज साँझ ६ बजेदेखि नयाँ प्रणाली लागू हुने बताएको छ।

विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनमा लाइसेन्स ट्रायलको पालो पाइने बताए। '१५ दिनभित्र पालो सक्ने गरी सिमित आवेदन परेपछि सिस्टम आफैं बन्द हुन्छ। त्यसपछि परीक्षा सकिएपछि फेरि खुल्छ,' उनले भने। अनलाइन पेमेन्टको व्यवस्था मिलाउन समेत प्राविधिक टोलीले काम गरिरहेको घिमिरेले बताए। 

कोभिड महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाप देखिएको छ। विभिन्न कार्यालयमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन झन्डै दुईदेखि तीन वर्षसम्म पनि कुर्नुपर्ने अवस्था देखिएपछि विभागले यस्तो व्यवस्था गरेको हो। 

चाप अत्यधिक भएपछि विभागले गत चैतदेखि आवेदन प्रणाली नै बन्द गरेको हो। विभागका अनुसार आवेदन प्रणाली बन्द गर्दासम्म लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको थियो। 

विभिन्न सिफ्टमा परीक्षा सञ्चालन गरी सन् २०२४ सम्मको पालो परेका सबै परीक्षा सकाएर नयाँ प्रणाली सुरू गर्न लागेको हो। छुटपुट भएकाहरुका लागि पनि विभिन्न यातायात कार्यालयहरुले पटक पटक सूचना जारी गरेका थिए। त्यसपछि पनि छुटेको अवस्थामा भने आजदेखि हालसम्म परेका आवेदन खारेज गरी नयाँ प्रणाली लागू हुने विभागले बताएको छ। 

नयाँ प्रणाली विभागले यहि जेठ ४ गतेदेखि नै लागू गर्ने घोषणा गरेको थियो। तर प्राविधिक समस्याका कारण चार गतेबाट सो व्यवस्था लागू गर्न नसकिएको महानिर्देशक घिमिरेले बताएका थिए।

विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । हालसम्म परेका पाँच लाख ७२ हजारभन्दा बढी आवेदनहरू रद्द गरिएको विभागले जनाएको छ । 

पुराना आवेदन बन्द गर्दै नयाँ प्रणालीमार्फत आवेदन दिने व्यवस्था मिलाएको छ । नयाँ तथा वर्ग थप गर्न हालसम्म परेका सबै अनलाइन आवेदन रद्द गरी नयाँ प्रणालीको गर्न लागिएको विभागले जनाएको छ ।