अफ्रिकन स्वाइन फिभर: मानिसमा सर्दैन, डराउनु पर्दैन

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, १४ : १२
अफ्रिकन स्वाइन फिभर: मानिसमा सर्दैन, डराउनु पर्दैन

काठमाडौँ । नेपालमा पहिलोपटक 'अफ्रिकन स्वाइन फिभर' नामक भाइरस देखा परेको छ। पशु सेवा विभागका अनुसार गत चैतमा काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बंगुरमा उच्च मृत्युदर देखा परेपछि त्यहाँबाट नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो।त्यहाँ मलिकुलर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अप्रिकन स्वाइन फिभर पुष्टि भएको विभागले जनाएको छ।

‘गत २ जेठमा यो रोग नेपालमा भएको पहिलोपटक पुष्टि भएको हो। त्यसपछि काठमाडौँकै कागेश्वरी, मनहरा, कीर्तिपुर, चन्द्रागिरी‚ टोखा र दक्षिणकाली क्षेत्रमा समेत यसको निगरानी गरिएको थियो। यस्तै ललितपुरको गोदावरी, भक्तपुरको चाँगुनारायण क्षेत्रमा मरेका घरपालुवा सुँगुरको समेत नमुना जाँच गरिएको थियो। त्यसक्रममा सबै ठाउँमा यो रोगको संक्रमण पुष्टि भएको पत्ता लाग्यो’, विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘अफ्रिकन स्वाइन फिभर’ संक्रमण भएपछि सुँगुर प्रजातिमा उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग भएको विभागले जनाएको छ।

यो संक्रमण भएपछि सुँगुर प्रजातिमा उच्च ज्वरो आउने‚ कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छटपटाउने, चाल धरमराउने, तुहिने जस्ता लक्षण सहित बथानमा एकैपटक ठूलो संख्यामा सुँगुर, ब‌ंगुर तथा बँदेल मर्ने गर्दछन्।

विभागले उपत्यकामा यो रोग लागेर अहिलेसम्म १‚०१९ वटा सुँगुर र बंगुर समेत मरेको पाइएको उल्लेख गरेको छ।

 मानिसमा सर्दैन डराउनु पर्दैन

‘अफ्रिकन स्वाइन फिभर’ सुँगुर प्रजातिमा प्राणघातक रोग भए पनि यो रोग सुँगुरबाट मानिसमा नसर्ने पशुसेवा विभागले जनाएको छ।

 यता सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले पनि हालसम्म यो रोग जनावरबाट मानिसमा सरेको नपाइएको हुँदा डराउनु नपर्ने बताउँछन्। ‘अफ्रिकन स्वाइन फिभर हालसम्म जनावरबाट मानिसमा सरेको पाइएको छैन, त्यसैले डराइ हाल्नुपर्ने अवस्था छैन’‚ उनले भने।

तर संक्रमण देखिरहेको हुँदा यस्ता जनावरको मासु राम्ररी पकाएर खानु राम्रो हुने उनले बताए।

यता टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि हालसम्म यो फिभर जनावरबाट मानिसमा सरेको नपाइएको हुँदा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए। 'पशुहरूमा प्राणघातक देखिए पनि हालसम्म यो फिभर मानिसमा सरेको पाइएको छैन। त्यसैले डराइहाल्नुपर्ने अवस्था छैन तर संक्रमण भएको ठाउँमा पशु फार्ममा काम गर्दा खेरी सतर्कता अपनाएको राम्रो हुन्छ'‚ उनले भने। 

प्रतिक्रिया दिनुहोस