रियल नआउने भएपछि बेन्जेमाले दिए एमबाप्पेलाई धोकेबाजको संज्ञा

सफल खबर संवाददाता

आइतबार, ०८ जेठ २०७९, १२ : ३०
रियल नआउने भएपछि बेन्जेमाले दिए एमबाप्पेलाई धोकेबाजको संज्ञा

काठमाडौं ।फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले अन्तत: पेरिस सेन्ट जर्मेन (पीएसजी) मै बस्ने पक्का भएको छ। एमबाप्पेले पीएसजीसँग थप तीन वर्षको सम्झौता गरेका हुन्। नयाँ सम्झौतापछि एमबाप्पे सन् २०२५ सम्म पिएसजीमै रहनेछन्।

स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडले एमबाप्पेलाई भित्राउने प्रयास गरेको थियो। एमबाप्पेले पनि रियलसँग मौखिक सम्झौता गरिसकेका थिए। तर, उनले उक्त सम्झौतामाथि पुनर्विचार गर्दै पीएसजीमै बस्ने निर्णय गरेका हुन्।

रियालले एमबाप्पेसँगै इर्लिङ हल्यान्डलाई समेत अनुबन्धन गर्ने प्रयास गरेको थियो। हल्यान्ड यसै महिना मात्र इङ्लिस प्रियिमर लिग क्लब म्यानचेस्टर सिटीमा अनुबन्धन भएका थिए।

एमबाप्पे र पीएसजीबीचको सम्झौता आगामी महिना सकिँदै थियो। एमबाप्पेले केही दिन अघि मात्र आफूले क्लब भविष्यका बारेमा निर्णय गरिसकेको र छिट्टै आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका थिए।।मैले पीएसजीसँगको सम्झौता थप गर्ने निर्णय लिएँ र म एकदमै खुसी छु’, उनले भने, ‘म क्लबको नयाँ प्रस्तावमा सहमत भएँ। मप्रति विश्वास गरेकाले क्लबका अध्यक्ष नासिर अल खिलाफीलाई धन्यवाद दिन चाहन्छु।’

एमबाप्पेले पीएजीसँगको सम्झौता नविकरणलाई यादगार बनाउने क्रममा घरेलु मैदानमा १० खेलाडीमा समेटिएको मेट्जमाथि ५–० को जित निकालेको खेलमा ह्याट्रिक पूरा गरेका थिए।

पीएसजीको जितमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा नेयमार र एन्जल डि मारियाले समान एक गोल थपे।

बेन्जेमा रुष्ट
एमबाप्पे पीएसजीमा बस्ने निर्णय गरेपछि रियलका फरवार्ड करिम बेन्जेमा रुष्ट बनेका छन्। व्यक्तिगत रुपमा नजिक रहेका बेन्जेमाले गत वर्ष फ्रान्सेली राष्ट्रिय टोलीमा फर्केयता नै एमबाप्पेलाई रियल भित्र्याउन चाहेका थिए।  शनिबार राति एमबाप्पेले आफू पीएसजी बस्ने पक्का गरेको केहीबेरमा नै बेन्जेमाले सामाजिक सञ्जाल इन्स्टाग्राममा रियललाई औंलाले देखाउँदै नम्बर १ क्लब भएको पोस्ट गरेका थिए। त्यसपछि उनले र्‍याप संगीतका महान टुपाक शाकुरको एक तस्बिर पोस्ट गरेका थिए।

उक्त तस्बिरमा टुपाकसँगै उनको नजिकका साथी पनि रहेका थिए। टुपाकको असामयिक निधनमा तिनै साथीको धोकेबाजी कारण रहेको आरोप लाग्दै आएको छ। बेन्जेमाले घुमाउरो रुपमा  गर्दै एमबाप्पेलाई तिनै साथीजस्तो (धोकेबाज) भएको संकेत गरेका हुन्।

मैदान भित्र र बाहिर दुवैमा राम्रो सम्बन्ध रहेपनि एमबाप्पे रियल नआउनुले यी दुईबीच सम्बन्धमा असर पर्ने अनुमान गर्न सकिन्छ। 

एक दिन अघि एमबाप्पेले दुवै क्लबसँग मौखिक सम्झौता गरिसकेका थिए। एमबाप्पेकी आमा र उनको एजेन्ट फायजा लमारीले पनि दुवै क्लबसँग सम्झौता छलफल पूरा भएको र एमबाप्पेले नै अन्तिम निर्णय लिने बताएका थिए।रियल र पीएसजी दुवै क्लबले एमबाप्पेलाई नयाँ सम्झौता हस्ताक्षर गरेबापत् १ सय ५० मिलियन युरो तिर्न राजी भएका थिए। दुवै क्लबले एमबाप्पेले आफ्नो तस्बिर अधिकारको अधिकांश रकम तथा वार्षिक तलब ४० मिलियन यूरो रहनेमा पनि सहमति जनाएका थिए।

तर, एमबाप्पेले अन्तिम समयमा रियल नजाने निर्णय लिएका हुन्। उनले यसबारे रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई व्यक्तिगत फोन सम्पर्कमार्फत् नै जानकारी दिएका थिए। त्यसपछि रियलका अध्यक्ष पेरेजले ड्रेसिङ रुममा पुगेर खेलाडीलाई एमबाप्पे नआउने जानकारी दिएका थिए।

पीएसजीले सन् २०१८ मा एमबाप्पेलाई १६६ मिलियन पाउण्डमा स्थायी रुपमा अनुबन्ध गरेको थियो। मोनाकोका फरवार्डले एक सिजन लोनमा बिताएर स्थायी रुपमा पीएसजीमा आएका थिए। उनी क्लब इतिहासमा नेयमारपछिका महंगा खेलाडी हुन्। उनले यस सिजन मात्र पीएसजीलाई लिग जिताउन २८ गोल गर्नुका साथै १७ गोलको अवसर सिर्जना गरेका थिए।

मौरिसियो पोचिटिनोको क्लब च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा भने नाटकीय रुपमा पराजित बनेको थियो। एमबाप्पे बाल्यकालमा हुँदा रियलका खेलाडीको पोस्टर उनको कोठामा थियो। उनी विशेषगरी क्रिस्टियानो रोनाल्डोको समर्थक थिए। तर, पटक–पटक आफ्नो सपनाको क्लब जाने अवसरलाई पनि एमबाप्पेले नकारेका छन्। 

यता, एमबाप्पे नआउने भएपछि रियल  समस्यामा परेको छ। सन् २०१८ मा रोनाल्डोको प्रस्थानपछि क्लबले ठूलो नाम भित्र्याउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस